बुधबार, भदौ २६, २०८१
12:27 | १७:१२

लन्डन ग्रीनवीच बरोमा गुल्मीका पालिका प्रमुखहरुले गरे अनुभव आदानप्रदान

नेपाली लिङ्क अगस्ट १५, २०२४

लन्डन- गुल्मी जिल्लाका स्थानीय निकाय प्रमुखहरुले लन्डनको रोयल ग्रीनवीच बरो अवलोकन भ्रमण गरेका छन् ।

गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणमा बेलायत आएका उनीहरुले विहीबार लन्डन वुल्लीचस्थित ग्रीनवीच बरोको कार्यालय पुगेर स्थानीय मेयरसंग अनुभव आदानप्रदान समेत गरे ।

गुल्मीको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा तथा गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापा र उपप्रमुख तारा थापा ढेंगाले ग्रीनवीच बरो भ्रमण गरेका हुन् ।

सो अवसरमा ग्रीनवीच बरो मेयर जीत रानाभाटले गुल्मीका पालिका प्रमुखहरुलाई खादा र बरोको ब्याज लगाएर स्वागत गरेका थिए ।

मेयर रानाभाटले बेलायतमा स्थानीय सरकारको संरचना, सञ्चालनको विधि र अभ्यास, निर्वाचन प्रणाली लगायत विभिन्न प्राविधिक विषयबारे जानकारी गराएका थिए।

ग्रीनवीच बरोमा नेपाली मूलका पहिलो मेयर रानाभाटले नेपालका स्थानीय निकायहरुसंग समन्वय र सहकार्य आफ्नो रुची र प्राथमिकताको विषय रहेको उल्लेख गरेका थिए।

सो अवसरमा गुल्मीको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बेलायतमा भएको उच्चतम विकाससम्बन्धि अनुभव नेपालका स्थानीय निकाय र जनप्रतिनिधिहरुका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे ।

बेलायतका स्थानीय निकायहरुबाट अनुभवका साथै विधि, प्रक्रियासम्बन्धी प्राविधिक ज्ञान नेपालका स्थानीय निकायहरुका लागि उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

आर्थिक समृद्धिको आधार नै सुशासन रहेको बताउँदै मेयर पन्थीले यो भ्रमणका क्रममा बेलायतको समुन्नतिलाई नजिकबाट हेर्ने र नेपालमा कसरी यस्तै विकास र समुन्नति हासिल गर्न सकिन्छ भनेर बुझ्ने उद्धेश्य रहेको सुनाए।

सो अवसरमा अन्य पालिका प्रमुखहरुले पनि मेयर रानाभाटसंग अनुभव आदानप्रदान गर्दै बेलायती व्यवस्थाबारे जिज्ञासाहरु राखेका थिए ।


गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापाले गुल्मीका पालिका प्रमुखहरुलाई स्वागत र अनुभव आदानप्रदानको अवसर मिलाएकोमा मेयर रानाभाटप्रति आभार प्रकट गरे।

भ्रमणका क्रममा ग्रीनवीच बरो मेयर रानाभाटले गुल्मीका पालिका प्रमुखहरुलाई बरोको मेयर पार्लर, एसेम्बली हललगायतका स्थानहरु अवलोकन गराएका थिए ।

सो अवसरमा गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवम् एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, सल्लाहकार बालजंग अर्याल, शिव भण्डारी, तारा भट्राई, महासचिव महलाल घिमिरे, कार्यसमिति सदस्य सुरेश केसीलगायत पदाधिकारीको पनि उपस्थिति थियो ।

गुल्मी जिल्ला समाज यूकेले जिल्लाका सबै पालिका प्रमुखलाई बेलायत निम्त्याएर यहाँका स्थानीय निकायहरुसंग साक्षात्कार गराउने कोशिस गरेको हो । जसअनुसार केही पालिका प्रमुखले दुई दिनअघि रश्मोर बरो पुगेर अवलोकन भ्रमण तथा अनुभव आदानप्रदान गरेका थिए ।

तस्विर: शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू