मंगलबार, असोज १, २०८१
20:44 | ०१:२९

लन्डनब्रीजमा अनिताको तीज गीत (भिडियो)

नेपाली लिङ्क अगस्ट १४, २०२४

लन्डन । पहिलो बेलायत भ्रमणमा निकै व्यस्त छिन् गायिका एवं मिडियाकर्मी अनिता चलाउने । स्टेज कार्यक्रममात्र होइन, लन्डन आएका बेला उनले एउटा तीज गीत निकालिन् ‘म राम्रो कि उ राम्रो भन्देउ सबैले’ ।

शनिबार अनिताकै यूट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

खेम सेन्चुरी र अनिताको स्वर छ गीतमा । प्रशान्त खड्काले निर्देशन गरेको उक्त म्यूजिक भिडियो सुमन श्रेष्ठले छायांकन गरेका हुन् । लन्डनब्रीज, नर्थला फिल्ड, अल्पर्टन मन्दिर आदिमा भिडियो छायांकन गरिएको हो ।

निर्माण विश्व बस्ताकोटीले गरेका छन् । शब्द नेत्र अर्याल र संगीत खेम सेन्चुरीको छ । अभिनय गायक राजु ढकाल र सुश्मा बस्याल बस्ताकोटीले गरेका छन् । आरुसी मगरको कोरियोग्राफी छ ।

‘अडियोमा गत वर्षकै टिम राखेको छु यो पटक पनि । हाम्रो गीत रमाइलो र सन्देशमूलक छ’, अनिता भन्छिन् ‘अहिले बजारमा आइरहेका केही गीत जस्ता छाडा, विकृतियुक्त छैन हाम्रो ।’

समय अनुसार तीज गीतमा परिवर्तन जरुरी रहे पनि दायराभित्र बसेर निकाल्नु पर्ने उनको धारणा छ ।

‘केही तीज गीत परिवार संगै बसेर हेर्न नसकिने खालका भए’, उनले भनिन्, ‘जे गाए पनि हुन्छ, देखाए पनि हुन्छ जस्तो ट्रेन्ड बनेको छ । यसले नेपाली मौलिकता लोप हुने चिन्ता बढेको छ ।’

गायक राजु ढकाल र सुश्मा बस्याल बस्ताकोटी

नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन गत जुलाई १८ मा लन्डन आएकी थिइन् उनी । ५ वटा कार्यक्रम गरिसकेकी अनिता यहाँको समुदाय नेपाली कला संस्कृति जगेर्नाप्रति बढी गम्भीर पाएको बताउंछिन्।

‘बेलायतमा नेपाली कलाकारलाई धेरै माया सम्मान हुँदो रहेछ । सिस्टममा चलेको देश । रमाइलो पल लिएर छिट्टै नेपाल फर्कँदैछु’, उनले सुनाइन् ।

सुदुर पश्चिमको अछाममा जन्मिएर बर्दिया हुँदै उच्च शिक्षा लिन काठमाडौं खाल्दो झरेकी उनी वि. सं. २०७२ बाट संगीतमा लागिन् । उनका ५० बढी गीत रेकर्ड भइसकेका छन् ।

पत्रकारितामा मास्टर्स गर्दै गरेकी अनिता ४ वर्षदेखि आफ्नै मिडिया हाउस “के छ नेपाल“ अनलाइन टिभी पनि सञ्चालन गर्दै आएकी छिन् ।

विगत ७ वर्षदेखि नेपाल टेलिभिजनमा कार्यरत उनको ‘सृजनाका सारथी, र संगीत तरंग’, साप्ताहिक कार्यक्रम पनि छ ।

यूकेपछि कार्यक्रमका लागि डेनमार्क जाने तयारी गरिरहेकी उनी कलाकारलाई स्टेज प्रोग्राम बांच्ने आधार भएको र विदेशमा भएका संस्थाले झन् सहयोग पुगेको बताउंछिन् ।

गायिका अनिता चलाउने

सुश्मा बस्याल बस्ताकोटी

यस्तो छ भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू