बेलायती प्रधानमन्त्री स्टार्मरलाई एक महिनामै चुनौती
हिंसात्मक प्रदर्शनपछि बेलायत सामान्य अवस्थामा
लन्डन — करिब एक साता लामो हिंसात्मक प्रदर्शनपछि बेलायत अहिले सामान्य अवस्थामा फर्किएको छ । बेलायत गत साता १३ वर्षपछि सबैभन्दा अशान्त बनेको थियो । दक्षिणपन्थी समूहहरूले आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर मस्जिदमा आक्रमण गरे ।
सार्वजनिक सम्पत्ति, प्रहरी र तिनका गाडी तोडफोड मात्र गरेनन्, जलाए पनि । प्रदर्शनकारीले आप्रवासीहरू बसेको दुई ठूला होटलमा आगजनी गरे । सार्वजनिक पुस्तकालय र सिटिजन एडभाइस ब्युरोको भवनसमेत जलाइदिए ।
गत जुलाई २९ मा उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा एक १७ वर्षीय युवाले छुरा प्रहार गरेर ६, ७ र ९ वर्षका तीन बालिकाको हत्या गरेपछि हिंसा फैलिएको थियो । प्रहरीले बालिका हत्या गर्ने संदिग्ध युवा बेलायतमा जन्मिएको जनाए पनि दक्षिणपन्थीहरूले ती युवा शरणार्थी र मुस्लिम भएको हल्ला फैलाए । त्यसपछि आप्रवासी र मुस्लिमविरोधी प्रदर्शनहरू हिंसामा परिणत भएको थियो ।
एक दशकयताकै सबैभन्दा उग्र ठानिएको हिंसात्मक दंगा लन्डन, म्यानचेस्टर, लिभरपुल, सन्डरल्यान्ड, हल, ब्रिस्टोल, बेलफास्ट, साउथपोर्ट, रोदरम, लिड्स, डरहाम, बोल्टन, मिडल्सब्रालगायत दर्जनौं सहरमा फैलिएको थियो । तर, पछि दक्षिणपन्थी समूहहरूको प्रतिवाद गर्न कैयौं सहरमा स्वतःस्फूर्त ‘काउन्टर’ प्रदर्शन गरिएको थियो । सरकारले हिंसात्मक गतिविधिमा संलग्न प्रदर्शनकारीलाई धमाधम गिरफ्तार गर्नुका साथै अदालतले जेल सजाय तोकेपछि दक्षिणपन्थीहरू हच्किएका थिए ।
प्रहरीले सोमबारसम्म ९ सय ७५ भन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ भने हिंसा फैलाएको आरोपमा ५४६ जनामाथि अभियोग लगाएको छ । बेलायतभर दर्जनौंले जेल सजाय खेपेका बेला सोमबार १२ वर्षीय एक किशोरले पनि हिंसात्मक गतिविधिमा संलग्न भएको स्विकारेका छन् ।
स्टार्मरलाई एक महिनामै चुनौती
गत जुलाई ४ को निर्वाचनमा भारी बहुमत ल्याएसँगै बेलायतमा लेबर नेता किअर स्टार्मर प्रधानमन्त्री नियुक्त भएका थिए । तर उनको कार्यकाल एक महिना पनि नपुग्दै फैलिएको दंगा स्टार्मरका लागि ‘पहिलो गाँसमै ढुंगा’ बन्यो । उनी नेतृत्वको सरकारले पछिल्लो हिंसा नियन्त्रण गरी अहिले अवस्था सामान्य बनाए पनि उसलाई जनविश्वास पुनर्निर्माण गर्न चुनौती हुने ठानिएको छ । सरकारले यसको पुनरावृत्ति रोक्न बलियो फौजदारी न्याय प्रणाली र कार्यात्मक अध्यागमन नीति बनाउनुपर्ने आवाज पनि उठेको छ ।
बेलायतको आप्रवासीविरोधी दंगाले प्रधानमन्त्री स्टार्मरका लागि महत्त्वपूर्ण परीक्षण खडा गरेको कतिपय विश्लेषकहरू बताउँछन् । १४ वर्षपछि लेबरले आमनिर्वाचन जितेसँगै कन्जरभेटिभबाट सत्ताको साँचो खोस्न सफल भएको थियो । तर नवनियुक्त प्रधानमन्त्री स्टार्मरले सत्ताको बागडोर सम्हालेको एक महिनामै ठूलो चुनौती सामना गर्नुपर्यो । संस्थागत नश्लवाद सम्बोधन गर्न बेलायत सरकार असफल भएकाले पछिल्लो अति–दक्षिणपन्थी हिंसा फैलिएको मानवअधिकारवादी समूहहरूको दाबी छ ।
विश्वव्यापी मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेसनल र बेलायतको अग्रणी र्याडिकल जस्टिस थिंक ट्यांक ‘रन्नीमेड ट्रस्ट’ को नयाँ प्रतिवेदनले बेलायतमा समस्याग्रस्त जातीय असमानता उजागर गरेको छ । ‘इस्लामोफोबिक’ असन्तुष्टि लामो समयदेखि बेलायतभर फैलिए पनि अहिले सतहमा आएको कतिपयको बुझाइ छ । सन् २०२३ को बेलायत सरकारको तथ्यांकअनुसार बेलायतका मुस्लिमहरूभन्दा बढी घृणित अपराधको सामना कुनै पनि धार्मिक समूहले गरेको छैन । २०२३ मार्चमा रेकर्ड गरिएका धार्मिक घृणा अपराधमा १० मध्ये ४ भन्दा बढी मुस्लिमविरुद्ध लक्षित थिए ।
राजनीतिमा लागेको ९ वर्षमै प्रधानमन्त्री बनेका ६१ वर्षीय स्टार्मरले चुनावी घोषणापत्रमा विद्यमान आयकर दर, नेसनल इन्सुरेन्स वा भ्याटमा कुनै वृद्धि नगर्ने वाचासहित देशमा आर्थिक स्थिरता प्रदान गर्ने, सप्ताहन्त र साँझ काम गर्न कर्मचारीलाई बढी ज्याला तिरेर सातामा ४० हजार थप अपोइन्टमेन्टसहित नेसनल हेल्थ सर्भिसमा पालो कुर्नुपर्ने समय घटाउने, गैरकानुनी रूपमा मानव तस्करी रोक्न सीमा सुरक्षा कमान्ड बनाउने उल्लेख छ ।
स्टार्मरले ६ हजार ५ सय थप शिक्षक भर्ती गरी इंग्ल्यान्डका प्रत्येक प्राथमिक विद्यालयमा निःशुल्क ब्रेकफास्ट क्लब व्यवस्था गर्ने, इंग्ल्यान्ड र वेल्समा १३ हजार थप प्रहरी र कम्युनिटी सपोर्ट अफिसर थपेर ‘एन्टी सोसल’ व्यवहार रोक्ने, चक्कु अपराध नियन्त्रण गर्ने एजेन्डा पनि अघि सारेका थिए ।
त्यसका साथै, म्याचेट्स, जोम्बी चक्कु र तरबारहरूको खरिद–बिक्रीमा कडा प्रतिबन्धसहित ऊर्जा बिल घटाउने, क्लिन इनर्जीमा लगानी गरी रोजगारी सिर्जनाजस्ता वाचा गरेका थिए । तर, गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार आइतबार ११ वटा साना डुंगाबाट ७०३ जना गैरकानुनी आप्रवासी बेलायत भित्रिए । प्रधानमन्त्रीले चुनावअघि साना डुंगा आगमन रोक्नु एउटा प्रमुख एजेन्डा रहेको बताएका थिए । तर उनले सत्ता सम्हालेको केही दिनमै आप्रवासीलाई रुवान्डा पठाउने अघिल्लो टोरी नेतृत्वको सरकारको विवादास्पद योजना खारेज गरेका थिए ।
‘स्टार्मर सत्तामा आएको छोटो समयमै बेलायतका केही सहरमा दंगा फैलिनु राष्ट्र र उनका लागि दुर्भाग्य मात्रै हैन, यो उनको नेतृत्व शैली र उनको सरकारको परीक्षण पनि थियो,’ बेलायती राजनीतिका जानकार डा. बच्चु कैलाश कैनी भन्छन्, ‘सरकारले दंगामा संलग्न दोषीलाई तत्काल अदालतमा उपस्थित गराएर कामकारबाही अगाडि बढायो । विभिन्न समुदायका मानिस र संघ–संस्थाबीच भाइचारा बढाउने सन्देश सम्प्रेषण गराएर सरकारले दंगालाई निस्तेज पार्न जुन भूमिका खेल्यो, यसले यो कठिन र खरो परीक्षणमा सरकार एक किसिमले सफल भएको मान्न सकिन्छ ।’
तथापि, बेलायतमा अवैध आप्रवासीको व्यवस्थापन र उग्र दक्षिणपन्थीहरूलाई तह लगाउन चुनौतीका चाङ भने कम हुन नसकेको उनको बुझाइ छ । बेलायतका उग्र दक्षिणपन्थीहरू कुनै एक संस्था वा दलमा संगठित हुनेभन्दा पनि भित्रभित्रै आफ्नो विचार र अवैधानिक उग्र कामलाई प्रश्रय दिने खालका व्यक्तिहरूको समूह हो । नदेखिने रूपमा समाजमा हल्ला फैलाउन र सामाजिक सञ्जालको उपयोग गर्ने हुनाले यिनीहरूले आफ्नो गतिविधि तीव्र पार्न सकेका छन् ।
त्यसैगरी, हरेक दिन बेलायतमा भित्रिने अवैध आप्रवासी र उनीहरूको बढ्दो संख्याले सरकार र समाजमा भ्रम फैलाउन लागेका देखिएको कतिपयको विश्लेषण छ । यो परिस्थितिमा सरकार एक्लैले यिनीहरूलाई नियन्त्रण गर्न त्यति सहज भने नदेखिएको कैनीको बुझाइ छ । तर, बेलायतको समाज बहुजातीय, बहुभाषी र सहिष्णु भएको हुनाले विभिन्न जात, धर्म, रङ र प्रकारका मानिसको सहकार्य र सरकारको सक्रिय कामकारबाहीले बेलायतमा दंगा निस्तेज हुने विश्वास उनको छ ।
बेलायत सरकार र यसका संयन्त्रहरू त्यस्ता चुनौती सामना गर्न र दंगा निस्तेज पार्न धेरै हदसम्म सक्षम र सबल छन् । यहाँ मानवअधिकारको रक्षा गर्दै कानुनी रूपमा विरोध गर्न पाउने सबैको अधिकार सुनिश्चित गर्नु सरकारको कर्तव्य पनि हो । तर, कानुनविपरीत जातीय दंगा हुन नदिने, भएमा त्यसलाई रोक्ने र समाजमा सबैलाई सुरक्षाको प्रत्याभूति दिनु र शान्तिसुरक्षा प्रदान गर्नु सरकारको काम पनि हो । यही कुरा केअर स्टार्मर र उनको सरकारले गर्न सक्ने वा नसक्ने त्यसमा यो सरकारको तत्काल मूल्यांकन हुनेछ । अनि, यही मूल्यांकनका आधारमा भविष्यमा सरकारको लोकप्रियता मापन हुने निश्चित छ ।
बेलायतमा दंगा
बेलायतमा सन् १९१९ को दंगा सबैभन्दा अशान्ति मच्चाएको जातीय दंगा मानिन्छ । त्यसबेलाको घटना अखबारहरूमार्फत राष्ट्रिय मुद्दाका रूपमा आयो, जसले धेरैलाई बेलायतमा अश्वेत र अल्पसंख्यक जातीय समुदायको उपस्थितिबारे सचेत गराएको ठानिन्छ । उक्त दंगा ग्लास्गो, साउथ सिल्ड्स, साल्फोर्ड, लन्डन, हल, न्युपोर्ट, ब्यारी, लिभरपुल र कार्डिफक सडकहरूमा हिंसात्मक बनेको थियो । पाँच जनाको ज्यान गएको उक्त दंगामा कैयौं मारपिट र सम्पत्ति तोडफोडका घटना भएका थिए ।
ती बन्दरगाह सहरहरूमा हजारौं श्वेत श्रमिक वर्गको भीडले आफ्नो क्रोध अश्वेत र अल्पसंख्यक जातीय समुदायमा पोखेको थियो । युद्धपछिको रोजगारी अभाव हुँदा उनीहरूले औपनिवेशिक कामदारलाई दोष दिएको इतिहास छ । सन् १९८१ को अप्रिल र जुलाईमा पनि इंग्ल्यान्डका धेरै सहरमा दंगा फैलिएको थियो । दंगामा विशेष गरी अश्वेत युवा र प्रहरीबीच झडप भएका थिए । काला जातिमाथि जातीय भेदभाव गरी रोकेर ‘सर्च’ गर्ने क्रम बढेको बहानामा सबैभन्दा गम्भीर दंगा अप्रिलमा लन्डन ब्रिक्सटनमा भयो । त्यसपछि जुलाईमा लिभरपुलमा टोक्सटेथ दंगा, बर्मिङ्घममा ह्यान्ड्सवर्थ दंगा, लिड्सको च्यापलटाउन दंगा र म्यानचेस्टरमा मोस साइड दंगाहरू भएका थिए । अन्य सहरमा पनि साना दंगाहरूको शृंखला नै चलेको थियो । दंगा छानबिन गर्न त्यतिबेला सरकारले लर्ड स्कारयानको संयोजकत्वमा एक समितिसमेत बनाएर पछि प्रतिवेदन सार्वजनिकसमेत गरेको थियो ।
१३ वर्षअघि २०११ मा पनि बेलायत अशान्त बनेको थियो । लन्डन केन्द्रित दंगा चार दिनसम्म चलेर अन्यत्र फैलिएको थियो । उक्त दंगा बेलायतको आधुनिक इतिहासमा सबैभन्दा अशान्त नागरिक दंगा थियो । यस क्रममा ५ जनाको ज्यान गएको थियो । २०११ अगस्ट ६ मा उत्तरी लन्डनको टोटेनहममा सानो स्तरबाट दंगा सुरु भएको थियो । दिउँसो लगभग तीन सय मानिस लन्डनको ब्रोडवाटर फार्म स्टेटबाट टोटेनहम पुलिस स्टेसनतर्फ हिँडेका थिए । उनीहरूले दुई दिनअघि प्रहरीले गोली हानेर मारेका मार्क डुग्गनको मृत्युमा ‘न्याय’ र ‘जवाफ’ खोजिरहेका थिए ।
तर त्यसले हिंसात्मक रूप लिँदा उत्तरी लन्डनबाट दुई माइल टाढा वुड ग्रिनसम्म दंगा फैलिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले सयौं पसलमा लुटपाट मच्चाएका थिए । सोमबार ८ अगस्टसम्म ३२ लन्डन बरोमध्ये २२ बरो प्रभावित भए । मेट्रोपोलिटन पुलिसले ‘राजधानीको इतिहासमा अप्रत्याशित घटना’ भनेर उल्लेख गरेको थियो । त्यसबेला इलिङमा ६८ वर्षीय रिचर्ड बोवेस लुटेराहरूविरुद्ध उत्रँदा गम्भीर घाइते भएका थिए ।
दंगाको चौथो रात लन्डन शान्त थियो । तर, ग्लोस्टर, बर्मिङ्घम, साल्फोर्ड, म्यानचेस्टर, लिभरपुल र नटिङ्घम सहरसहित इंग्ल्यान्डभर फैलियो, जहाँ तीन मुस्लिम पुरुषहरू आफ्नो पसलको सुरक्षा गर्दा मारिएका थिए । त्यो दिन सबैभन्दा हिंसात्मक दंगा ग्रेटर म्यानचेस्टरमा देखिएको थियो । त्यतिबेला इंग्ल्यान्डमा तीन हजारभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो भने दुई हजारभन्दा बढीले दंगासँग सम्बन्धित विभिन्न अपराधको सामना गर्नुपरेको थियो ।
त्यतिबेला हालका प्रधानमन्त्री केअर स्टार्मर इंग्ल्यान्ड र वेल्सका मुख्य अभियोजक थिए । उनले पाँच दिनको दंगामा संलग्न हजारौं मानिसहरूको अभियोग निरीक्षण गरेका थिए । २०११ मा अधिकांश दंगामा युवा र पुरुषहरू संलग्न थिए ।
न्याय मन्त्रालयको तथ्यांकअनुसार दंगासम्बन्धी मुद्दामा अदालतमा उपस्थित आरोपीमध्ये ३७ प्रतिशत गोरा, ४० प्रतिशत अश्वेत र ६ प्रतिशत एसियाली थिए । दंगाका कारण कुल चार सय मिलियन पाउन्डभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको थियो । त्यस्तै, इंग्ल्यान्डले १७१५, १९४७, १९५८, १९९१, २००१ मा विभिन्न दंगाको सामना गरेको थियो ।