बुधबार, पुष २४, २०८१
03:13 | ०८:५८

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा मुद्दा दर्ता

रासस/एएफपी अगस्ट १३, २०२४

ढाका, साउन २९ गते । गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् र अझै उनी भारतमै छिन् । उनको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए ।

उनको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए ।

निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाले भने, “शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।”

उनका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो ।

अदालतमा मियाले दायर गरेको मुद्दामा हसिनाका पूर्व गृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ । यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ । उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ ।

उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेवारी सात जनालाई लगाइएको छ । जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो ।

डेली स्टार अखबारका अनुसार गोलाबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’ का तर्फबाट मुद्दा ल्याइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू