बुधबार, भदौ २६, २०८१
12:27 | १७:१२

१७ औं रेडिङकप ३१ अगष्टमा, फुटबलसंगै हुनेछन् विविध मनोरञ्जन

नेपाली लिङ्क अगस्ट ११, २०२४


लन्डन- बेलायतको नेपाली समुदायमा आयोजना हुने प्रमुख स्पोर्टिङ इभेन्टमध्ये एक हो रेडिङकप ।

ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) ले वर्षेनी गर्दै आएको रेडिङकपको १७ औं संस्करण यही अगष्ट ३१ तारिखलाई तय छ ।

रेडिङको पाल्मर पार्कमा हुने प्रतियोगितामा युवा, भेटेरान र सुपर भेटेरान गरी तीन छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा गराइनेछ।

१७ औं रेडिङकप संयोजक समेत रहेका आयोजक जीआरएनसीका सचिव डा भरत पौडेलका अनुसार तीन विधामा गरी जम्मा तीन दर्जन टीमले यसपटकको प्रतियोगिता खेल्नेछन् । युवामा १६, भेटेरानमा १२ र सुपर भेटेरानमा ८ टीमको सहभागिता हुंदैछ ।

रेडिङकपको मुख्य एवम् युवा विधामा विजेतालाई २ हजार २४ पाउण्ड नगदसहितको पुरस्कार छ भने उपविजेता टिमले नगद १ हजार २४ प्राप्त गर्नेछन् ।

त्यस्तै, भेटेरान र सुपर भेटेरानमा विजेतालाई क्रमशः १ हजार २४ र ५ सय २४ तथा उविजेतालाई क्रमशः ५ सय २४ र ३ सय २४ पाउण्ड नगद पुरस्कार दिइनेछ।

प्रतियोगितामा प्रवेश शुल्कस्वरुप हरेक टीमलाई युवा र भेटेरान विधामा २ सय ५० पाउण्ड तथा सुपर भेटेरान विधामा १ सय ५० पाउन्ड लाग्नेछ ।

रेडिङकपमा फुटबलका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरुको पनि आकर्षण रहने आयोजकले जनाएको छ । प्रतियोगितास्थलमा नेपाली खाना तथा विभिन्न व्यापारिक स्टलहरुका साथै मौलिक नेपाली पञ्चेबाजासहितका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी छ ।

रेडिङकप हेर्न चार हजार बढी दर्शक उपस्थित हुने अपेक्षा आयोजकको छ ।

आयोजक जीआरएनसी अध्यक्ष भिमसेन खड्काले बेलायतवासी सबै नेपालीलाई संस्थाको तर्फबाट रेडिङकपको निम्तो दिएका छन् । दर्शकको उपस्थितिले खेलाडी र आयोजकलाई हौसला मात्र नभइ यो अवसर साथीभाइ भेटघाट र नेपाली खाना तथा विविध मनोरञ्नात्मक कार्यक्रममा रमाउने पर्व पनि भएको भन्दै अध्यक्ष खड्काले सबैलाई उपस्थित हुन आव्हान गरेका छन्।

१७ औं रेडिङकपलाई सफल पर्न आयोजक जीआरएनसीले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार आर्थिक तथा बिजनेस विभागको जिम्मा उपाध्यक्ष सुरेश थापालाई लगाइएको छ भने अरु यादव श्रेष्ठ र कल्पना पण्डितलाई अतिथि सत्कारको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, मिडियामा सुवास चौलागाईं तथा स्वयमसेवकतर्फ मीन गुरुङ, हिम्म्त सिटौला, सुरेन्द्र उप्रेतीले जिम्मेवारी पाएका छन् ।

सन् २००७ मा तत्कालीन अध्यक्ष महेश गुरुङ र वर्तमान उपाध्यक्ष प्रेम गुरुङको सक्रियतामा शुरु भएको रेडिङकप यस वर्ष सफलतापूर्वक १७ औं संस्करणमा आइपुगेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू