बुधबार, भदौ २६, २०८१
12:30 | १७:१५

बेलायतमा इमिग्रेसन कडाइपछि ह्वात्तै घटे विदेशी विद्यार्थी र केयर वर्कर

नेपाली लिङ्क अगस्ट ९, २०२४

लन्डन- बेलायतमा गतवर्ष कञ्जरभेटिभ पार्टी नेतृत्वको सरकारले लागू गरेको इमिग्रेसन कडाइपछि यहाँ आउने आप्रवासीहरुको भिसा आवेदन संख्या ह्वात्तै घटेको छ ।

पछिल्लो एक वर्षमा बेलायतको भिसाको लागि भएका आप्रवासीहरुको कुल आवेदनको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै एक तिहाईले घटेको तथ्यांकले देखाएको छ ।

होम अफिसले प्रकाशन गरेको प्रोभिजिनल तथ्यांकअनुसार गत जुलाई महिनासम्मको एक वर्षमा आप्रवासी तथा तीनका परिवार गरी मात्रै ९१ हजार भिसा आवेदन भएका छन् । जुन संख्या ठीक एक वर्ष अघिको सोहि अवधिमा १ लाख ४१ हजार थियो ।

इमिग्रेसनको पछिल्लो कडाइले विदेशी विद्यार्थी तथा केयर क्षेत्रका कामदारलाई परिवार ल्याउने बाटो बन्द गराइदिएपछि भिसा आवेदन संख्यामा भारी गिरावट आएको हो ।

गत वर्ष भिसा आवेदनहरुमा सबैभन्दा ठूलो गिरावट हेल्थ एण्ड केयर वर्कर भिसामा छ । यो विधामा पछिल्लो एक वर्षमा मात्रै २९ सय आवेदन भएका छन् । जुन अघिल्लो एक वर्षको तुलनामा ८० प्रतिशतले कम हो।

उता, अपवादबाहेक अन्तरराष्ट्रिय विद्यार्थीलाई समेत डिपेन्डेन्ट भिसामा परिवार ल्याउन नपाइने भएपछि उनीहरु आउने क्रम पनि ठप्प जस्तै बनेको छ ।

अन्तरराष्ट्रिय विद्यार्थीहरुको आगमनमा भारी कमी भएपछि पहिले नै आर्थिक दबाबमा रहेका भनिएका बेलायती विश्वविद्यालयहरु थप संकटमा परेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू