दोस्रोपटक बेलायत आउँदा झन् बढी माया बटुल्दै सुशिला


लन्डन- नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सुशिला गौतम यतिबेला बेलायतमा छन् । सांगीतिक भ्रमणकै शिलशिलामा दोस्रो पटक बेलायत आइपुगेकी उनलाई अहिले यहाँका संगीतप्रेमी नेपालीमाझ प्रस्तुति दिन भ्याइ नभ्याइ छ ।
केहि साताअघि मात्रै बेलायत आइपुगेकी सुशिलाले बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति गरिरहेकी छन् ।
यी गुल्मेली गायिकाले गत साता आइतबार लन्डन फेल्थाममा सम्पन्न गुल्मी जिल्ला समाज यूकेको १६ औं वार्षिक भेलामा १२ सय बढी दर्शकमाझ प्रस्तुति दिइन्।
त्यसअघि क्षेत्री समाज यूकेले अल्डरसटमा गरेको कार्यक्रम, क्याट यूकेले लन्डनमा गरेको च्यारिटीदेखि बिहुकोट हेल्प नेपाल नेटवर्कको मिडल्यान्डमा सम्पन्न अधिवेशनका अवसरमा पनि सुशिलाले सुमधुर गायन प्रस्तुत गर्दै दर्शक नचाइन् ।
यही अगष्ट १२ तारिख सोमबार नटिंगहम नेपाली मेलामा प्रस्तुति दिन लागेकी उनी सेप्टेम्बर २ मा तीजविशेष कार्यक्रमका लागि स्कटल्याण्ड पुग्दैछन् ।
अन्य विभिन्न संस्था र समूहले आयोजना गर्ने तीज कार्यक्रमलगायतमा पनि प्रस्तुतिका लागि तयारी भइरहेको उनी बताउँछिन् ।
गुल्मीको शान्तिपुर घर भएकी सुशिला पछिल्लो केहि वर्षदेखि लोकदोहोरी संगीतमा सक्रिय छन् ।
यसअघि सन् २०१८ मै बेलायत आएर सांगीतिक प्रस्तुति गरिसकेकी उनले त्यसयता सांगीतिक कार्यक्रमकै लागि जापान, रशिया, मलेसियालगायत मुलुक भ्रमण गरिसकेकी छन्।
नेपालभित्र विभिन्न जिल्लाका मेला, महोत्सवमा समेत व्यस्त भइरहने उनले गाएका कयौं प्रत्यक्ष लोकदोहोरी समेत युट्युवमा रुचाइएका छन् ।
आफ्नै केही सांगीतिक एल्बमका साथ दर्जनौं गीतमा आवाज दिएकी सुशिलाको पञ्चेबाजा ‘माइतीको माया’, तीजगीत ‘भुइं छोडेकी चरी‘, ‘एक नजर लाइदेउ न माया‘, ‘रातो भाले‘ लगायत गीत दर्शकश्रोतामा बढी लोकप्रिय छन् ।
दोस्रोपटक बेलायत आएर प्रस्तुति गर्दा दर्शक, श्रोताबाट झन् बढी माया बटुल्न सफल भएकोमा सुशिला दंग छन् ।
‘म शुरुमै आएर थुप्रै कार्यक्रममा गाएको ठाउँ भएकाले पनि मलाई बेलायत विशेष लाग्छ । त्यसमाथि यहाँका दर्शकले नेपाली संगीत र कलाकारलाई दिने माया सांच्चीकै खास छ’, नेपालीलिंकसंग सुशिलाले भनिन्, ‘अझ मलाई दोस्रोपटक झन् धेरै माया दिनुहुने बेलायतवासी सबै दर्शक र आयोजक संघसंस्थाहरुप्रति निकै आभारी छु ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५