बंगलादेशमा संसद विघटन, पूर्वप्रधानमन्त्री खालिदा जिया रिहा


ढाका- बंगलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख माग सम्बोधन गर्दै मंगलबार संसद् बिघटन गरेका छन् ।
बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन बाध्य बनाएको थियो ।
राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका थिए ।
प्रधानमन्त्री हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बंगलादेशको वर्तमान राजनैतिक अवस्था सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।
पूर्वप्रधानमन्त्री खालिदा जिया रिहा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौको नजरबन्दबाट रिहा गरिएको छ ।
जियालाई उनकी कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरुले उनको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो । प्रदर्शनकारीहरुको विरोधपछि हसिना मुलुक छाडेर भागिसकेकी छन् ।
दुई महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम–बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई परिभाषित गरेको छ । अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।
छयत्तर वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्। तर आन्दोलनका अगुवाहरुले सेना नेतृत्वको सरकार स्वीकार नगर्ने बताइसकेका छन् ।
जिया प्रमुख विपक्षी बंगलादेश नेशनल पार्टी (बिएनपी) को अध्यक्ष हुन् । जियाको स्वास्थ्य अवस्था खराब छ । गठिया रोग, मधुमेह र कलेजो सिरोसिसको बिरामी उनी ह्विलचेयर प्रयोग गर्दै आएकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५