लन्डनको गुल्मेली भेलामा मौलिक सांस्कृतिक मेला (फोटो फिचर)


लन्डन – गुल्मी जिल्ला समाज यूकेको आयोजनामा १६ औं गुल्मेली भेला एक विशेष कार्यक्रमसहित आइतबार सम्पन्न भएको छ ।
लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरमा सम्पन्न कार्यक्रममा बेलायतभरबाट भेला भएका गुल्मेलीसहित १२ सय भन्दा बढीको सहभागिता रह्यो ।
विगतमा जस्तै कार्यक्रमको प्रमुख आकर्षण मौलिक सांस्कृतिक प्रस्तुतिहरु थिए । नेपालबाट आएका राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुतिसंगै प्रथम नौमति बाजा गुल्मी यूकेको प्रस्तुति, मौलिक गुल्मेली झ्याउरे, भजन, तीजगीतसहितका विविध कार्यक्रममा सहभागीले मनोरञ्जन लिए ।
कार्यक्रमस्थलमा दिनभर घन्किरहेको नौमती बाजामा गरिएको नाचगान गुल्मीकै झल्को दिलाउने खालको थियो । एकैसाथ छुट्टा-छुट्टै समूहमा चलिरहेका मौलिक भजन, झयाउरे र तीजको नाचगानजस्ता कार्यक्रम हेर्दा कुनै मौलिक सांस्कृतिक मेलाकै अनभूति हुन्थ्यो ।
बाहिर स्वस्फूर्त नाचगान चलिरहंदा भित्र हलमा राष्ट्रिय कलाकारका लोकदोहोरी प्रस्तुतिमा पनि सयौं नाचिरहेका थिए । सो अवसरमा लोकदोहोरी कलाकारहरु सुशिला गौतम, दीपक घर्तीमगर, रेनुका भट्टराई, दिलु सलामीलगायतले सांगीतिक प्रस्तुति गरेका थिए ।
त्यस्तै, दीपक माइथाने, अञ्जना सापकोटा, गोमा सापकोटा, पवित्रा सापकोटा, महिमा कंडेल, गरिमा सारु, प्रिसा खत्रीसहितका स्थानीय कलाकारले पनि आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन समाजकी सांस्कृतिक सचिव माया केसीले गरेकी थिइन् ।
त्यसअघि समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न संक्षिप्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक राजदूत रोशन खनाल, विशेष अतिथि लन्डन ग्रीनवीचका मेयर जीत रानाभाट, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व सांसद डा सूर्य पाठक, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पान्डे र कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा, कार्यक्रमको टाइटल स्पोन्सर सुरेश केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष रुद्र थापाले आफ्नो मन्तव्यमा कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहयोगी, सहभागी तथा अतिथिलाई धन्यवाद ज्ञापन गरे । महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
त्यसअवसरमा समाजका तर्फबाट बेलायतको कार्यकाल पूरा गरी फर्किन लागेकी कार्यवाहक राजदूत रोशन खनाललाई दोसल्ला ओढाएर सम्मानसहित बिदाई गरिएको थियो । त्यस्तै, टाइटल स्पोन्सर सुरेश केसी, गोल्ड स्पोन्सर काशिराम भण्डारीलाई प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरियो ।
त्यसअघि गत महिना असामयिक निधन भएका समाजका सल्लाहकार फत्त थापालगायतको स्मृतिमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।
सोही अवसरमा माया केसी र अर्जुन बस्नेतको संयोजनमा सुनका गरगहनालगायतका आकर्षक पुरस्कारसहितको ‘राफल ड्र’ पनि गराइएको थियो ।
हेरौं थप तस्विरहरु (तस्विर: शिव भण्डारी/गुणदेव घिमिरे)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५