बिहीबार, माघ १०, २०८१
16:48 | २२:३३

हृदयाघातका कारण दिवंगत लामाप्रति लन्डनमा श्रद्धान्जली

नेपाली लिङ्क अगस्ट ४, २०२४


लन्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङ कलजंग लामाप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

आइतबार ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा स्वर्गीय लामाको फोटोमा माल्यार्पण गरि श्रद्धान्जली सभा आयोजना गरियो । 

श्रद्धान्जली सभामा उपस्थित महानुभावहरुले स्वर्गीय लामाले बेलायतस्थित नेपाली समाजमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरे ।

पार्टी विशेषको मात्र नभई सामाजिक अभियन्ताका रुपमा रहेका लामा साझा व्यक्तित्वका रुपमा रहेको वक्ताहरुले बताए ।

पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेनेले संस्थापक लामालाई गुमाएर समाजलाई अपुरणीय क्षति पुगेको बताइन्। लामाले देखेका सपना र परिकल्पनालाई साकार बनाउन उनको मार्गदर्शनलाई अनुसरण गर्न सके मात्र उनी प्रतिको श्रद्धासुमन सच्चा ठहरिने अध्यक्ष सेनेले उल्लेख गरिन्।

एमाले पूर्व सांसद तथा केन्द्रीय सदस्य सूर्य पाठकले लामाले प्रवासी नेपाली समाजमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै प्रवासका समस्याहरु समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

बेलायतस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले पनि लामाप्रति श्रद्धान्जली व्यक्त गरेकी थिइन् । त्यस्तै, प्राध्यापक कृष्ण उपाध्यायले पनि स्वर्गीय लामा प्रति श्रद्धान्जलीसहित उनको योगदानको चर्चा गरे ।

ओएनएफ यूके अध्यक्ष तंगुभद्र भुसालले स्वर्गीय लामा सरल स्वभाव र लोकतान्त्रिक आचरणका व्यक्ति भएको र  जस्तोसुकै परिस्थितिमा सबैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा आफूले पाएको बताए । 

उनले स्वर्गीय लामा जस्ता व्यक्ति डायस्पोराको नेपाली समाजमा अझै आवश्यक रहेकाले आफूले दैनिकरुपमा लामालाई सम्झिने गरेको जनाए । 

ओएनएफ यूकेका पूर्व अध्यक्ष भक्त गुरुङ र पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले पनि स्वर्गीय लामाको योगदानको चर्चा गरेका थिए ।

नेकपा माओवादीमाओवादी केन्द्र पश्चिम अन्तरदेशिय प्रवास प्रदेश समिति उपसंयोजक तथा यूरोप इन्चार्ज रण खाती क्षेत्रीले स्वर्गीय लामा एमाले पार्टीको मात्र नभई सबैको साझा व्यक्तिको रुपमा पाएको बताए । 

सचिव पून्य रेग्मीले संचालन गरेको श्रद्धान्जली सभामा स्वर्गीय लामाकी श्रीमति माया लामासहित छोराहरु पेम्मा र कर्मा लामा उपस्थित थिए । 

परिवारका तर्फबाट बोल्दै स्वर्गीय लामाका छोरा कर्माले स्वर्गीय बुवाप्रति श्रद्धान्जली सभा आयोजना गरेकोमा ओएनएफ यूकेलाई धन्यवाद दिए ।


स्वर्गीय लामाको अन्तिम इच्छा अनुसार उनले अध्ययन गरेको  श्री गर्जाढुङगा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । 

उक्त रकम स्थानीय व्यवस्थापन समिति, स्वर्गीय लामाकी धर्मपत्नी माया लामा र ओएनएफ यूकेको सहमतिमा चल्ने गरि कोष स्थापनाको कार्यविधि बनाइनेछ ।

नेपाल भ्रमणमा गएका बेला गत १४ मे २०२४ मा हृदयाघातका कारण लामाको निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू