बिहीबार, माघ १०, २०८१
16:48 | २२:३३

पत्रकार महासंघ म्याग्दी अध्यक्षसंग बेलायतका पत्रकारहरुको अन्तरक्रिया

नेपाली लिङ्क अगस्ट १, २०२४


लन्डन । हाल बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलसंग बेलायतका पत्रकारहरुले अन्तरक्रिया गरेका छन् । 

बिहीबार सांझ क्यानरी वार्फस्थित होली काउ फाइन डाइनमा आयोजित अनौपचारिक कार्यक्रममा म्याग्दी शाखा अध्यक्ष पौडेलले नेपालमा मोफसल र समग्र पत्रकारिताको अवस्था, चुनौति, केन्द्रिय निर्वाचनको अन्यौलता र समसामयिक राजनीतिक विषय आदिबारे अवगत गराएका थिए । 

युवा पुस्तामा विदेश पलायनको लहरले गाउँमा सन्नाटा छाएको उल्लेख गर्दै उनले दोस्रो पुस्तामा पत्रकारिताको रुची एकदम न्यून रहेको बताए ।

बेलायतमा सिमित श्रोतसाधनबीच पनि पत्रकारहरुले व्यवसायिक धर्म निर्वाह गरिरहेको थाहा पाउंदा खुशी लागेको पौडेलले बताए । बेलायतमा आफूले सिकेको सीप र ज्ञान नेपाल मोफसलका पत्रकारहरुलाई समेत तालिममार्फत प्रदान गर्न उनले आग्रह गरे ।

पौडेलले प्रवासको पत्रकारिता समुदायमा बढी केन्द्रित भएपनि पत्रकारहरुले बेलायती डायष्पोराका गतिविधि सम्प्रेषण गरेर सबैलाई सुसूचित गरेको टिप्पणी गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले शाखा स्थापना, यहांको पत्रकारिता चुनौति र अवस्थाबारे अवगत गराउंदै शाखामा सृजना गर्न खोजिएको भ्रम र विवाद सम्बन्धमा प्रष्ट पारेका थिए । निर्वाचन प्रक्रियामा सामेल हुने तर पराजय स्वीकार्न नसक्ने परिपाटीका कारण शाखा विवादमा फस्दै गएको बस्नेतको धारणा थियो ।
यस्तो विवाद यसपटकमात्र नभई चुनावका बेला केही वर्षदेखि हुंदै आएको उनले स्मरण गरे । 


शाखाका उपाध्यक्ष शिव भण्डारीले म्याग्दी अध्यक्ष पौडेललाई स्वागत गर्दै दुई शाखाबीच सहकार्यमा जोड दिए । 

नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेलले यहांको पत्रकारिता कपी पेष्टमै टिकेको दावी गर्दै फिल्डमै खटिएर समाचार संकलन गर्ने नेपाली पत्रकारहरुको संख्या औंलामा गन्न सकिने रहेको उल्लेख गरे ।

उनले बेलायतमा नेपाली पत्रकारिता पूर्ण व्यवसायिक हुन असम्भव रहेको पनि बताए ।
कार्यक्रम संयोजन गरेका युवा उद्दमी तथा समाजसेवी सुमन शर्माले सबैलाई स्वागत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू