मंगलबार, पुष ९, २०८१
23:53 | ०५:३८

धेरै बोलेर समय खेर फाल्दिनं, काम गर्छु- बालेन

नेपाली लिङ्क अगस्ट १, २०२४

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र साह) ले आफूले धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् ।

बिहीबार काठमाडौँ महानगर वडा ८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उनले सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए।

लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने मेयर साहको धारणा थियो । उनले भवन उद्घाटनमा ठुलो कार्यक्रम गरिरहनु नपर्ने बताए । २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको उनको भनाइ थियो ।

मेयर साहले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको बताए। उनले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरको मुहार हेर्ने चाहना रहेको सुनाए ।

सम्पदामैत्री क्षेत्रमा सम्पदामैत्री सडक र घर तथा भवन बनाउन काठमाडौँ महानगरले बजेट समेत व्यवस्था गरिरहेको जानकारी दिंदै उनले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए ।

सम्पदा शैलीका सडक र घर भवन भए पर्यटकलाई आकर्षण अझै बढी हुने उनको विश्वास छ ।

काठमाडौँ महानगर उपमेयर सुनिता डंगोलले महानगरको वडा ८ ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक रूपमा महत्त्व बोकेको वडा भएको बताइन् ।

उनले वडाले बस्ती र बस्तीहरूलाई सांस्कृतिक र पुरातात्त्विक रूपमा पर्यटकीय रूपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राखिन्।

पर्यटकीय सम्भावना भएका ठाउँमा हाउस पुलिङ गर्ने योजनालाई अघि सारेको उपमेयर डंगोलको भनाइ थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू