बिहीबार, माघ १०, २०८१
16:43 | २२:२८

बेलायतमा विद्यार्थीको समस्याबारे शिक्षामन्त्रीलाई एनआरएनए इंग्ल्यान्डको ज्ञापन

नेपाली लिङ्क अगस्ट १, २०२४

काठमाडौंमा शिक्षामन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै परिषदकी सचिव अन्जु कुंवर

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्य समन्वय परिषदले बेलायतमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

विहीबार परिषदकी सचिव अन्जु कुंवरले काठमाडौंस्थित शिक्षा मन्त्रालय पुगेर शिक्षामन्त्री विद्या भट्टराईलाई परिषदका तर्फबाट सुझावसहितको एक ज्ञापनपत्र बुझाएकी छन् ।

परिषदका अध्यक्ष शम्भुप्रसाद अर्याल र सचिव कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा विभिन्न ५ बुंदामा सुझाव समेत प्रस्तुत गरिएको छ ।

ज्ञापनपत्रमा अध्ययनका लागि बेलायत आउने नेपाली विद्यार्थीका लागि सही र वास्तविक सूचना दिलाउन आवश्यक नीति बनाउन नेपाल सरकारलाई आग्रह गरिएको छ ।

त्यस्तै, बेलायत आइसकेका नेपाली विद्यार्थीहरुको तथ्यांक राख्न तथा उनीहरुको अवस्था र समस्याबारे अपडेट लिन लन्डनस्थित नेपाली दूतावासबाट आावश्यक पहलको व्यवस्था गर्न माग गरिएको छ ।

परिषदले बेलायतमा अध्ययन पूरा गरी नेपाल फर्कन इच्छुक विद्यार्थीलाई आवश्यक वातावरण तथा प्रोत्साहन र नीतिगत सहायताको व्यवस्था गर्न समेत सरकारलाई सुझाव दिएको छ ।

ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले बेलायतमा रहेका हजारौं नपाली विद्यार्थीले भोगेका समस्याबारे जानकारी गराएकोमा एनआरएनए इंग्ल्यान्डलाई धन्यवाद दिंदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको परिषदकी सचिव कुंवरले बताइन् ।

एनआरएनए इंग्ल्यान्ड राज्य परिषदका अध्यक्ष शम्भुप्रसाद अर्यालले गत जनवरी ६ तारिखमा बेलायतस्थित नेपाली विद्यार्थीका समस्याबारे परिषदले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियाका निष्कर्ष समेटेर नेपाल सरकारलाई सुझावसहितको ज्ञापनपत्र बुझाइएको जानकारी नेपालीलिंकलाई दिए ।

बेलायतस्थित नेपाली विद्यार्थी, प्राध्यापक, शैक्षिक परामर्शदाता, पत्रकार एवम् समुदायका अगुवासमेतको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीका समस्या सुल्झाउन नेपाल सरकारले नीतिगत रुपमै कयौं कार्य गर्न सक्ने निष्कर्ष निकालिएको थियो ।

परिषदले एक संयन्त्र नै बनाएर विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीलाई आधारभूत राहत, सहयोगदेखि दिर्घकालीन रुपमै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको अध्यक्ष अर्यालले बताए ।

ज्ञापनपत्र:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू