स्वर्गीय आङकलजंग लामाप्रति श्रद्धान्जली सभा तय
लन्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङकल जंग लामाको सम्मानमा श्रद्धान्जली सभा गर्ने भएको छ । आगामी ४ अगस्ट आइतबार नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा गर्न लागिएको श्रद्धान्जली सभामा उपस्थित भई स्वर्गीय लामा प्रति सम्मान व्यक्त गर्न ओएनएफ यूकेले बेलायतवासी जनसमुदायलाई आव्हान गरेको छ ।
गत साता जुम बैठकले स्वर्गीय लामाकी पत्नीसँग सरसल्लाह गरी उक्त श्रद्धान्जली सभा राखिएको अध्यक्ष तुंगभद्र भुसालले बताए । भुसालकै अध्यक्षतामा बसेको ओएनएफ यूकेको जुम बैठकले लामाको अन्तिम इच्छा अनुसार उनले अध्ययन गरेको विद्यालयमा अक्षय कोष स्थापना गर्ने निर्णय समेत गरेको छ ।
सामाजिक अभियन्ता लामाको नेपाल छँदा गत १४ मे २०२४ मा ह्दयधातका कारण असामायिक निधन भएको थियो ।
एमाले सांसद सूर्य पाठकको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा पार्टी विशेष भन्दा पनि साझा कार्यक्रमका रुपमा लिएर श्रद्धान्जलीमा उपस्थित हुन ओएनएफ यूके अध्यक्ष भुसालले डायस्पोराका नेपालीलाई आग्रह गरेका छन् ।
बेलायतस्थित नेपालीहरुको एक मात्र पुरानो संस्था यती नेपाली एसोसिएसन यूके, गैरआवासीय नेपाली संघ यूकेलगायत एक दर्जन संघसंस्थामा उल्लेख्य योगदान गरेका लामा पुराना इमान्दार अभियन्ताका रुपमा बेलायती नेपाली समाजमा परिचित थिए । उनको परिवार हाल बेलायतमै छ ।