बिहीबार, माघ १०, २०८१
16:54 | २२:३९

बेलायतको गुल्मेली भेला आइतबार, पूरा भयो तयारी

नेपाली लिङ्क जुलाइ ३०, २०२४


लन्डन- बेलायतमा वर्षेनी हुंदै आएको गुल्मेली भेलाको १६ औं संस्करण यही आइतबार अगष्ट ४ मा आयोजना हुंदैछ ।

लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरको मैदानमा बिहान ११ देखि बेलुका ९ बजेसम्म हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक गुल्मी जिल्ला समाज यूकेले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिन मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रुद्रबहादुर थापाले बेलायतवासी सबै नेपालीलाई कार्यक्रममा निमन्त्रणा गरे ।

‘आयोजक मात्र गुल्मेली हौं, कार्यक्रम बेलायतका सबै नेपालीको लागि हो’, अध्यक्ष थापाले भने, ‘हामी आशा गर्छौं गैरगुल्मेली नेपालीहरुलाई पनि स्वागत गर्न पाउनेछौं । मौलिक गुल्मेली कला, संस्कृतिका प्रस्तुति हेर्ने र मनोरञ्जन लिने अवसर सदुपयोग गर्नुहुन सबैलाई आव्हान गर्दछौं ।’

कार्यक्रममा यस वर्ष पहिलोपटक गुल्मी जिल्लाका स्थानीय निकायका प्रमुखहरुलाई निम्त्याइएको अध्यक्ष थापाले जनाए । गुल्मेली जनप्रतिनिधिहरुलाई यहाँका स्थानीय सरकारसंग सम्पर्क स्थापना तथा अन्तरक्रिया गर्न समन्वय गरेर नेपालको विकास र समृद्धिका लागि समेत सहयोग पुर्याउने योजना रहेको उनले बताए ।

भेलाकी संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमको तयारी लगभग पूरा भएको जानकारी दिइन्।

भेलामा विगतमा जस्तै नेपालबाट आएका राष्ट्रिय कलाकारका प्रस्तुति, मौलिक सांस्कृतिक कार्यक्रम, नौमति बाजाको प्रस्तुति, राफल ड्र र बालबालिकाका लागि बाउन्सी क्यासल, आइसक्रिम भ्यानलगायत आकर्षण रहने उनले बताइन्।

यसपटक भेलामा नेपालका राष्ट्रिय लोकदोहोरी कलाकारद्धय सुशिला गौतम र दीपक घर्तीमगरले प्रस्तुति गर्नेछन् । त्यसबाहेक प्रथम नौमती बाजा गुल्मी यूकेको प्रस्तुति, गुल्मेली झ्याउरे तथा ठाडो भाका, भजन, तीजगीतसहित मौलिक कार्यक्रमका साथै स्थानीय कलाकारका सांस्कृतिक नृत्यहरु पनि रहनेछन् ।

भेलामा बेलायतभरका पन्ध्र सय नेपालीको सहभागिता अपेक्षा गरिएको छ । कार्यक्रममा साउथ इष्ट लन्डन, मिडल्यान्डसहितका कयौं क्षेत्रबाट कोचहरु नै बुकिंग गरेर समेत सहभागीहरु आउने तयारी छ ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल रहने छिन् भने बेलायतस्थित अन्य विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि पनि अतिथिका रुपमा आमन्त्रित छन् ।

कार्यक्रमको टिकट शुल्क वयस्कहरुका लागि २५ पाउण्ड तथा ६ देखि १२ वर्षमुनिका बालबालिकाका लागि १२ पाउण्ड छ । टिकटमा फ्रेस बारबीक्यूहितको तीन कोर्स मिल उपलब्ध गराइनेछ ।

कार्यक्रमस्थलमा प्राथमिक उपचारको व्यवस्था रहने तथा खाना, शौचालय लगायतमा लामो लाइन बस्नु नपर्ने गरी यसपटक थप चुस्त व्यवस्थापन मिलाइएको समाजले बताएको छ ।

उक्त कार्यक्रम सञ्चालन समाजका महासचिव महलाल घिमिरेले गरेका थिए भने उपाध्यक्ष मुकुन्दहरि खरालले स्वागत मन्तव्य राखेका थिए । प्रवक्ता वसन्त खनालले कोच बुकिङबारे जानबारी गराएका थिए ।

पत्रकार सम्मेलनमा बेलायतस्थित प्रमुख नेपाली मिडियाका एक दर्जन बढी सञ्चारकर्मीहरु सहभागी थिए । सो अवसरमा समाजका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु तथा कार्यसमितिका पदाधिकारीलगायतको पनि उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू