पुस्तक समीक्षाः ‘ प्रिय चरी’ भित्र कवि गोपाल मन्डने
यो कस्तो समाजको नियम हे फेर्छौ आजै सब !
पोथीको किन चुइन खोज्छ दुनिया सारी तिनै वैभव !!
भाले हो कति ठान्दछौ र बलियो यो शक्ति ढल्ला अब !
यस्तै रितिरिवाजले अब कहाँ यो सृष्टि चल्ला अब !!
पुरुष प्रधान समाजले सदिऔँदेखि नारीलाई कमजोर बनाएको प्रसंग बढो मार्मिकरूपले उठाउँदै नारी सशक्तिकरणको पक्षमा उभिएका छन् कवि मन्डने अर्थात् नेपाली साहित्य विकास परिषद् यूके का सल्लाहकार पूर्व सहअध्यक्ष डा. गोपाल पौड्यल आफ्नो नवीनतम कृति ‘प्रिय चरी’ खण्डकाव्यभित्र ।
एक जोडी चराको दाम्पत्य जीवनको कथा बुनेर सृष्टि र चराचर जगतको अन्तर सम्बन्ध र सौन्दर्यलाई शार्दुलविक्रित छन्दमा पाँच सर्ग र दुई सय चालिस श्लोकमा कवि ‘मण्डने’ ले एउटा दर्शन चित्रण गरेका छन् । प्रकृतिको रचनामा मानव जगत् अरू चराचर जगत् जत्तिकै सौन्दर्य प्रवाहक हुन नसकेको र विनासको कारक बनेकाले प्रकृतिलाई असैह्य बनाएको जिकिर पनि गरेका छन् । खोलामा पानी बगेझैँ सलल बगेका छन्दोबद्ध श्लोकहरू मन छुन सफल छन् । जीवन र जगतको महिमा बढो मर्मस्पशी शैलीमा कथा बुनेर मनभित्रको भावना काव्यमा उतार्न कवि गोपाल मन्डने सफल छन् ।’
फुल्ला यौवनका गराजति सबै रोप्तै नरोपे पनि !
आगो बल्दछ भित्रभित्र सजिलै छोप्तै नछोपे पनि !!
सारा सीप–कलाहरू भुवनमा यस्तै गरी टल्किने !
आगो नै नभए नि हेर दुनियाँ झन् दन्दनी सल्किने !!
उनले सृष्टिको सौन्दर्य र चराचरजगतको अन्तर सम्बन्धलाई मूर्त वा अमूर्तरूपमा प्रष्टाउन खोजेको छन् । जीवन र जगतको माहात्म्यलाई बुझाउन खोजेका छन् । सुन्दर सृष्टिको विन्यासको कारक मान्छे बन्नु हँदैन भन्ने जिकिर छ । प्रकृतिको पक्षमा उभिएका छन् कवि । यस चराचर जगतमा रहेका सबै प्राणीहरू शान्तिपूर्ण बाँच्न पाउन मान्छेले नै पहल गर्नु पर्दछ भन्ने सन्देश कविले दिएका छन्।
पुरुष प्रधान समाजको विपक्षमा उभिँदै नारी स्वतन्त्रता र समानताका कुरा उठाएका छन् । एक जोडी चराको दिनचर्यालाई काव्यिक कथाको यथार्थ जालो बुन्दै कवि गोपाल मन्डनेले जीवनको शुरू र अन्त सुख र दुःख, शान्ति र सौन्दर्य, विग्रह र विनास आदि घुम्तीहरूको खोज गरेका छन् । सुन्दर प्रकृतिको क्रुद्धरूप के र कसका कारण आएका छन् भन्ने निर्क्यौलमा मान्छेलाई राखेका छन् । काव्यकथाको मर्मलाई मानवतासँग जोडेका छन् ।
मान्छे भएर नपुग्ने, मान्छेमा मानवता हुनु पर्ने तर्फ सङ्केत गरेका छन् । मानवता नभएको मान्छे अपूर्ण हुने । स्वार्थी र हिंस्रक हुने । जाली र झेली हुने । त्यस्ले अशान्ति र क्षति निम्ताउने र अन्ततः सृष्टिको सौम्य रचनालाई नै विकार पार्ने भएकाले खण्डकाव्यको कथा केन्द्रमा रहेका प्रमुख नायक नायिका एक जोडी चराको सौन्दर्यपूर्ण जीवनचर्याबाट मान्छेले सीप सिकेर यो सृष्टिको रचानालाई जस्ताको तस्तै रहन दिई स्वस्थ र शान्त भयरहित सौन्दर्यपूर्ण चराचर जगत् र जीवनको परिकल्पना र दर्शन कवि गोपाल मन्डनेले यस ‘प्रिय चरी’ खण्डकाव्यमा दिन खोजेका छन् ।
मायाको अविराम गीत भरिलो गाएर एकान्तमा !
आफ्नो सुन्दर मोहको अब कला छाएर एकान्तमा !!
वैशाखी वनमा फुलेर कहिले आयो वसन्ती छटा !
कैले साउनको झरी सब परी उड्थे कता हो कता !!
पाँच सर्ग र करिव दुई सय चालिस चारलाइनका श्लोकहरू शार्दूलविकृत छन्दमा कथेर कवि गोपाल मन्डनेले खण्डकाव्य पाठक समक्ष पस्केका छन् । घटनाक्रमले यस ‘प्रिय चरी’ कृतिलाई वियोगान्त खण्डकाव्य पनि भन्न सकिन्छ ।
सलल बगेको खोला झै सरसर्ती बगेका श्लोकहरू छन् । मन छुने र कठै भन्नेगरी काव्यकथाले मोडहरू लिएका छन् । एकचोटी पढ्न थालेपछि नसकन्जुल पुस्तक छोड्न मन नलाग्ने र पढिसकेपछि धेरैबेरसम्म पुस्तक भित्रै घोत्लिरहन मन लाग्ने मर्मस्पर्शी काव्यकथा ‘प्रिय चरी’ खण्डकाव्य रहेको छ । श्लोकमा भएकाले पढ्न रहर लाग्ने र सरल सुवोध रुचिकर छ । कृतिकार कवि डा. गोपाल पौडेल ‘मन्डने’ एक अब्बल कवि हुन् भन्ने प्रमाणित यस कृतिले पनि गरेको छ ।
नेपाली साहित्य विकास परिषद् यूकेबाट प्रकाशन गरिएको प्रिय चरी खण्डकाव्यभित्र परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्ल प्रकाशकीयमा लेख्छन्- ‘प्रिय चरी खण्डकाव्यभित्र कवि मन्डने सरल र सुवोद श्लोकहरूमा काव्य कथा बुनेर पाठकहरूको मन छुन सफल छन् ।’
सर्जक कवि मण्डनेप्रति शुभकामना ।
(समीक्षक शाह नेपाली साहित्य विकास परिषद् यूके संस्थापक तथा निवर्तमान अध्यक्ष हुन्)