बिहीबार, माघ १०, २०८१
16:54 | २२:३९

बेलायतमा ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियान शुरु

नेपाली लिङ्क जुलाइ २९, २०२४

फेल्ब्रिज (यूके)-  बेलायतमा ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियानको उद्घाटन भएको छ । यो अभियानले नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्छ भने नेपाली खानाप्रतिको साझा रुचिलाई पनि उत्सवको रुपमा मनाउँछ ।

“पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं । ‘साहित्यलाई पाककलासँग पस्किने’ यो अभियानले नेपाली साहित्यलाई मात्र प्रवर्द्धन गर्दैन, हाम्रो पाककलाप्रतिको प्रेमलाई पनि उत्सवको रुपमा मनाउँछ,” गोर्खा वुडकक इन फेल्ब्रिजका सुरज पाण्डेले भने- “नेपाली खाना बेलायतमा पहिले नै लोकप्रिय छ र अब हामी हाम्रा ग्राहकहरूलाई यी पुस्तक हस्ताक्षर कार्यक्रमको माध्यमबाट नेपाली साहित्यको स्वाद दिन्छौं । आजको कार्यक्रम सुरुवात मात्र हो र हामी आगामी दिनमा धेरै कार्यक्रमको प्रतीक्षा गरिरहेका छौं।”

एक ग्राहकले लेखकलाई भेट्न पाएको र पुस्तकको हस्ताक्षरित प्रतिलिपि किन्ने अवसर पाएकोमा आफ्नो उत्साह व्यक्त गरे ।  

“हामीलाई प्रायः लेखकहरूसँग भेट्ने मौका मिल्दैन, यो एक अद्भुत अवसर हो” अर्का उत्साही सहभागीले थपे, “हामी नेपाली खाना मन पराउँछौं र हामीलाई नेपाली साहित्यसँग परिचित गराउने यो कार्य सराहनीय छ । म पुस्तक पढ्न र अमेजनमा समीक्षा लेख्न आतुर छु।”

भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका किताबका अनुवादक जयन्त शर्माले भने, “यो पहलले म निकै उत्साहित छु र एक अनुवादकको रुपमा नेपाली साहित्यलाई विश्वमा पुर्‍याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु।”


सङ्गीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, “मेरा  कथाहरू मार्फत नेपाली साहित्य साझा गर्न यो मन्च प्रदान गरेकोमा म गोर्खा वुडकक इन फेल्ब्रिजप्रति आभारी छु र यहाँ हुने आगामी पुस्तक हस्ताक्षर कार्यक्रमहरूका लागि निकै उत्साहित पनि छु ।”

बुकहिल इन्टरनेशनलले प्रकाशन गरेको सङ्गीता स्वेच्छाको कथा संग्रह ‘रोजेज ओडिसी’ अप्रिल २०२४ मा बेलायतमा विमोचित भएको थियो। 

पुस्तक हस्ताक्षर कार्यक्रममा धेरै प्रतिलिपि बिक्रीसँगै यो पुस्तक गैर-नेपाली पाठकहरूमाझ लोकप्रिय हुँदै गइरहेको छ।

यूनिभर्सल पीस फेडेरेशन र फीड द माइन्ड्स जस्ता स्थानसहित बेलायतका ६ ठाउँमा पुस्तक हस्ताक्षर कार्यक्रम भइसकेको छ भने लन्डनको फाउन्ड्री (जहाँ ३० भन्दा बढी सामाजिक संस्था अवस्थित छन्) मा हुने आगामी कार्यक्रम ‘रोजेज ओडिसी’ का लागि अर्को रोमाञ्चक पक्ष रहेको लेखिका संगीता बताउंछिन् ।


‘रोजेज ओडिसी’ पुस्तक हस्ताक्षरको निमन्त्रणा बेलायतका विविध शैक्षिक संस्थान, रेस्टुरेन्ट, च्यारिटी संस्था र अन्य व्यापारिक संस्थाहरूबाट आइरहेकाले रोजेज ओडिसीको यात्रा जारी रहने विश्वास संगीताको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू