शुक्रबार, माघ ११, २०८१
20:23 | ०२:०८

बेलायती राजनीतिमा युवालाई अवसर

नेपालमा युवा पुस्तालाई सधैं पाखा

नवीन पोखरेल जुलाइ २९, २०२४


लन्डन । बेलायतमा ४ जुलाई सम्पन्न आमनिर्वाचनपछि भारी बहुमतका साथ लेबरले सरकार गठन गरि आफ्नो काम थालिसकेको छ । प्रधानमन्त्री किअर स्टार्मर आफ्नो वाचा अनुरुप ब्रिटेनलाई परिवर्तनको अनुभूति दिलाउन प्रयत्नरत छन् ।

सोही निर्वाचनबाट एकाएक चर्चामा आए एकजना २२ वर्षीय युवा सांसद साम कार्लिङ । क्याम्ब्रीज विश्वविद्यालयमा विज्ञान ग्रयाजुएट सामले विगत २० वर्षदेखि जितिरहेका भेट्रान कन्जरभेटिभ सांसद शैलेश बारालाई जम्मा ३९ मतले पराजित गरेर नर्थ वेष्ट क्याम्ब्रिजसायरबाट बेलायती सांसद हाउस अफ कमन्समा पाइला चाले । 

हाउस अफ कमन्सको सबैभन्दा कान्छो सदस्य सामलाई कतिपयले एउटा अनौपचारिक उपाधि दिएका छन् ‘बेबी अफ द हाउस’ ।

सामकै शब्दमा उनी आफ्नो विजयीलाई एउटा ‘राजनीतिक भूकम्प’ मान्छन् । उनलाई विश्वास छ आफ्नो जीतले अरु थप युवा पनि सार्वजनिक पदमा उभिनेछन् । तर, वेष्टमिन्स्टरमा आफ्नो उमेरलाई ध्यान केन्द्रित गर्न नचाहेको उनको भनाइ छ ।

‘म चाहन्छु कि हामी युवाहरूको उमेरको यो अनौठो मानसिकताबाट टाढा जानुहोस्। जहाँसम्म मलाई सरोकार छ हामी अरू कोही जस्तै छौं। म केवल काममा केन्द्रित हुन चाहन्छु’- बीबीसीसंग उनले भने । 

सामाजिक र आर्थिक क्षयीकरण एवं वेष्टमिन्स्टरमा गरिएका निर्णयहरूबीचको सम्बन्ध देखेर आफूले भर्खरै राजनीतिमा चासो देखाएको उनी बताउंछन् ।

कार्लिङ इंग्ल्याण्डको उत्तर–पूर्वको एउटा ग्रामीण शहरमा हुर्केका थिए, जसलाई उनले ‘धेरै थोकबाट वञ्चित क्षेत्र’ बताउंछन् ।

२२ वर्षीय युवा सांसद साम कार्लिङ

गत वर्ष अक्सफोर्ड विश्वविद्यालयका ग्रयाजुएट किअर माथरले २५ वर्षको उमेरमा लेबरबाट नर्थ योर्कसायर क्षेत्रको सेल्बी एण्ड एन्स्टी उपचुनाव जितेका थिए ।

उनले २० हजार एकसय ३७ मत ल्याएर उपचुनाव जितेका थिए । माथर सन् १९९८ मा इंग्ल्याण्डको हल शहरमा जन्मिएर सेल्बी नजिकै हुर्केका थिए।

बाल्यकालमा उनी युवा संसदमा सामेल भएका र हल शहरमा युवाहरूका लागि लेबर समूह स्थापना गरेको उनकी आमाले बताएकी छिन् ।

‘उनलाई बोल्न मात्र मन पर्छ,’ आमा जील ताम्बारोसले भनिन्, ‘उनले स्कुलमा भाषण र नाटक विषय पढेका थिए, नाटकमा अभिनय गर्न उनी रमाइलो मान्थे ।’

उता, स्कटिस नेशनल पार्टी (एसएनपी) की एमी कालाघन अघिल्लो निर्वाचन सन् २०१९ मा २७ वर्षको उमेरमा इष्ट डनबर्टनसायरबाट सांसद निर्वाचित भएकी थिइन्।

बेलायतमा राजनीतिप्रति युवा आकर्षण र उनीहरुलाई दिइने अवसरबारे यी प्रतिनिधि उदाहरणमात्र हुन् । बेलायती राजनीतिमा राजनीतिज्ञहरूका लागि उपयुक्त उमेर छ कि छैन भन्ने वहस पनि हुने गर्छ ।

बेलायती पूर्व प्रधानमन्त्री ७३ वर्षीय गोर्डन ब्राउनले हालै भनेका थिए, ‘उनी बेलायतमा राजनीतिज्ञ बन्न धेरै पाको उमेरका थिए तर अमेरिकाका लागि निकै जवान ।’

ब्राउनले नोभेम्बरको राष्ट्रपतीय निर्वाचनमा ८१ वर्षीय जो बाइडेन वा ७७ वर्षीय डोनाल्ड ट्रम्पबीच एकजनालाई राष्ट्रपति छनोट गर्ने अमेरिकीहरुको तयारीप्रति टिप्पणी गरेका थिए । यद्यपि, गत सातामात्र बाइडेन चुनावी दौडबाट बाहिरिएर उपराष्ट्रपति ६० वर्षीया कमला ह्यारिसलाई अगाडि सारेका छन् । 

बेलायतमा भूतपूर्व प्रधानमन्त्रीहरू टोनी ब्लेयर र डेभिड क्यामरुन पहिलोपटक प्रधानमन्त्री निर्वाचित हुँदा दुवै ४३ वर्षका थिए भने ऋषि सुनक ४२ वर्षको उमेरमा टेन डाउनिङ पुगेका थिए कान्छा प्रधानमन्त्रीका रुपमा । 

करिब १४ वर्ष विजनेश करिअरपछि राजनीतिक करिअर शुरु गरि सांसद भएको ७ वर्षमै जम्मा सुनक डाउनिङ स्ट्रिट छिरेका थिए । 

आधुनिक समयमा नम्बर टेनमा छिर्ने उनी सबैभन्दा कान्छो ब्रिटिश–भारतीय पनि हुन्। 

ब्रिटेनबाट अलिकति पर फ्रान्सकै राजनीति हेर्ने हो भने नयाँ प्रधानमन्त्री जम्मा ३४ वर्षीय गेब्रियल एटल छन्।

नेपालमा युवा पुस्तालाई पनि राजनीतिमा ठाउँ दिनुपर्छ भन्ने सोच अझै विकास भइनसकेको बताउंछन् बेलायतका पूर्व काउन्सिलर, संसदीय निर्वाचनका उम्मेदवार एवं राजनीतिक विश्लेषक डा. बच्चुकैलाश कैनी । 

‘नेपालमा एकपटक नेता भएपछि सधैं नेता नै भइरहने अभ्यास विपरित बेलायतमा राज्य हाँक्नका लागि नेतृत्व लिन उमेर होइन क्षमता हेरिन्छ । यहाँ मान्छेको रंग होइन उसको प्रभाव हेरिन्छ । यहाँ धर्म होइन मानवताको आधारमा सबैलाई एकै रूपमा हेरिन्छ’, कैनी भन्छन् ।

बेलायती जनता शिक्षित, सचेत र सजग भएकाले हाम्रा भन्दा राम्रा नेता र जनप्रतिनिधि छान्छन् । 

कुनै नेता बुढो हुँदैमा वा पाको हुँदैमा ऊ राजनीतिमा वरिष्ठ हुन्छ भन्ने मान्यता बेलायतमा छैन् । देश हाँक्न यहाँ कुनै पनि राजनीतिज्ञ कति वरिष्ठ छ भन्ने कुरा भन्दा उनीहरुको क्षमता, दक्षता र दुरदर्शिताको आधारमा मूल्यांकन हुने डा. कैनीको धारणा छ ।  

आजकलका युवा आफ्नो देश, अन्तर्राष्ट्रिय परिस्थिति, प्रविधि, समसामयिक विषय र सवालसंग राम्रो जानकार हुन्छन्। उनीहरुसँग नयाँ विचार, दृष्टिकोण, समस्या हेर्ने र समाधान गर्ने छुट्टै दृष्टिकोण हुन्छ।  त्यसैले युवाहरुलाई राजनीतिमा रुचाउने गरिन्छ ।

अहिले हाउस अफ कमन्समा मध्यम उमेरका सांसदहरुको वर्चस्व छ । सन् २०१९ को अघिल्लो आम चुनावमा सांसदको औसत उमेर ५१ थियो ।

गत चुनावमा आधाभन्दा बढी सांसद (५७.८ प्रतिशत) ४० र ५९ वर्ष बीचका थिए, जसमा झण्डै एक तिहाइ (३० प्रतिशत) ५० देखि ५९ सम्मका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू