शुक्रबार, माघ ११, २०८१
20:23 | ०२:०८

पत्रकार महासंघले गोर्खा विभेदबारे अन्तरक्रिया गर्ने, तीन पूर्व अध्यक्ष सल्लाहकार नियुक्त

नेपाली लिङ्क जुलाइ २७, २०२४


लन्डन । नेपाल पत्रकार महासंघ बेलायतका तीन पूर्व अध्यक्षहरु संस्थाको सल्लाहकार नियुक्त भएका छन् । 

२५ जुलाई बिहीबार अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकले शाखाका तीन पूर्व अध्यक्षहरु नवीन पोखरेल, नरेश खपांगीमगर र ध्रुवराज अर्याललाई सल्लाहकार नियुक्त गरेको हो ।

त्यसैगरि, बैठकले यूके शाखाको छैठौं कार्यकालको केन्द्रीय प्रतिनिधिमा पत्रकारद्वय डा. शिव तिवारी र दुत पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले छैठौं महाधिवेशन सफल रुपमा सम्पन्न भएको ठहर गर्दै महाधिवेशनमा सहभागिता जनाउने नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक लेखनाथ न्यौपाने, प्रेस चौतारी नेपाल अध्यक्ष गणेश बस्नेत, पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई, प्रेस युनियन नेपालकी केन्द्रीय उपमहासचिव दिलिपा अधिकारी लगायत छैठौं महाधिवेशन निर्वाचन समितिका संयोजक नरेश खपांगीमगर एवं सदस्यहरु पूर्ण गुरुङ र प्रजय शुक्ल, कानूनी सल्लाहकार सोलिसिटर उत्तरमान तिगेला, शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल एवं निवर्तमान कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्याल एवं सम्पूर्ण पदाधिकारी र सदस्यहरु, अधिवेशनमा सहभागी सम्पूर्ण साधारण सदस्यहरु, परिवेक्षकका रुपमा अधिवेशनमा उपस्थिति विभिन्न समाजमा अगुवा प्रतिनिधिहरु एवं सबै सहयोगीप्रति धन्यवाद ज्ञापन गरेको छ ।

उक्त बैठकले नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रमका  रुपमा आउँदो सेप्टेम्बर २२, २०२४ आइतबार भूपू गोर्खा सैनिकलाई बेलायत सरकारबाट हुँदै आएको विभेद सम्बन्धमा सरोकारवाला विभिन्न पक्ष राखी एउटा बृहत अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ । सो कार्यक्रम संयोजन गर्ने जिम्मा उपाध्यक्षद्वय प्रमिला लाबुङ राई र शिव भण्डारीलाई दिइएको छ । 

त्यसैगरि, तमुधिं यूकेले हरेक वर्ष मनाउँदै आएको नेपाली मेलामा यसपटक पनि एफएनजे यूकेको सहभागिता रहने र त्यसको संयोजन जिम्मा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत र सदस्य बम थापा सूर्यवंशी मगरलाई दिएको छ ।  

उक्त बैठकमा निवर्तमान कार्यसमितिबाट नयाँ कार्यसमितिलाई औपचारिक रुपमा बुझबुझारथ समेत गरिएको थियो । बैठकमा शाखाको बैंक खाता, वेवसाइट, इमेल र सामाजिक सञ्जालका पेजहरु समय अनुकुल थप व्यवस्थित गर्ने निर्णय गरेको छ ।

बैठकले महाधिवेशन पश्चात केहि असन्तुष्ट साथीहरुले शाखाको नाम, लोगो र फेसबुक पेजको अनाधिकृत प्रयोग गरि समाजमा अनर्गल प्रचारप्रसार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

यस किसिमको अवैधानिक र अनाधिकृत कार्यमा संलग्न नहुन सम्बधित सदस्यलाई आग्रह गर्दै बैठकले आगामी दिनमा यस्ता कार्यमा संलग्न भएको देखिए कारवाही गर्न वाध्य हुने चेतावनी पनि दिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू