आइतबार, भदौ २३, २०८१
01:13 | ०५:५८

लन्डनबाट फर्किएपछि भुवनले बोर्ड छाडे, कार्यकालमा १२ पटक विदेश भ्रमण

नेपाली लिङ्क जुलाइ २५, २०२४

लन्डन भ्रमणका क्रममा केसी

लन्डन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएको छ । 

मंगलबार (साउन ८ गते) उनको कार्यकाल सकिंदा केसी लण्डनमा थिए । थर्ड आईले आयोजना गरेको ‘नेपाली फिल्म फेस्टिबल लन्डन २०२४’ समापन समारोहका लागि वरिष्ठ अभिनेता केसीसहित दर्जन कलाकार बेलायत आएका थिए 

०७९ असार पहिलो साता बोर्ड अध्यक्ष नियुक्त भएयता केसी अनेक विवादमा मुछिए । दुई बर्ष कार्यकालमा केसी १२ पटक अध्यक्षको हैसियतमा सरकारी पैसामा विदेश भ्रमणमा गएको विषय विवादित बन्यो ।

उनको नियुक्ति नै विवादमा पर्‍यो । बोर्ड अध्यक्ष हुन स्नातक उत्तिर्ण तथा उच्च नैतिक चरित्र हुनुपर्ने प्रावधान छ । तर, केसीको योग्यता भने प्लस टु मात्रै हो ।

त्यस्तै, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि चलचित्र ‘ड्रिम्स’को छायांकनको क्रममा यौन दुर्व्यवहार गरेको आरोप केसीमाथि लागेको थियो । यसैलाई लिएर उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिटसमेत परेको थियो । 

त्यस्तै, चलचित्रहरुको बक्स अफिस कलेक्शन, सेन्सर, चलचित्र क्षेत्रको नाम चयन, विदेशमा हुने महोत्सव र अनावश्यक बजेट विनियोजन गरेको भन्दै केसी चर्को आलोचनामा परेका थिए । 

प्रेमिका जिया केसीसँग कार्यकक्षमै रोमान्स गरेको, सरकारी गाडी दुरुपयोग लगायतका विषयमा उनी विवादमा तानिए ।

शुक्रबार उनले दुई वर्षमा गरेका कामकाजको फेहरिस्त सुनाएपनि विवादबारे भने मौन रहे ।

बोर्डको क्षेत्राधिकार साँघुरो भएको जनाउँदै उनले भने, ‘केही गर्नुपर्छ भनेर म बोर्डको अध्यक्ष बनेँ, तर यहाँ आएर थाहा भयो कि विकास बोर्डमा थोरैमात्रै अधिकार रहेछ ।’

केसीले सरकारको आँखामा चलचित्र क्षेत्र अझै नपरेको गुनासो पनि गरे । ‘यस क्षेत्रका लागि सरकारले चाहिँ के गर्‍यो त ?’, भने, ‘नेपाली चलचित्र क्षेत्र यहाँसम्म आइपुग्नुमा सरकारको योगदान शून्य छ ।’  

केसी पदमुक्त भएसँगै नयाँ नेतृत्वका लागि विभिन्न कलाकारहरूले दौडधुप गरिरहेका छन् । एमालेनिकट दिनेश डिसी वा करिष्मा मानन्धरमध्ये एक जनाले नेतृत्व हात पार्न सक्ने चर्चा सिनेवृत्तमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू