आइतबार, भदौ २३, २०८१
01:09 | ०५:५४

बेलायतमा ‘ड्रिंक ड्राइभिङ’ का कारण जान्छ वर्षेनी सयौंको ज्यान

एक वर्षमै ३ सयले गुमाए ज्यान

नेपाली लिङ्क जुलाइ २५, २०२४

तस्विर पिए

लन्डन- बेलायतमा सवारीचालकले मादक पदार्थ सेवन गरेका कारण भएका दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या पछिल्लो एक दशकयताकै उच्च रेकर्ड भएको छ ।

सन् २०२२ मा बेलायतमा मादकपदार्थ सेवन गरेका सवारीचालक संलग्न दुर्घटनामा तीन सय जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ ।

बेलायती यातायात मन्त्रालय ‘डिपार्टमेन्ट फर ट्रान्सपोर्ट’ले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘ड्रिंक ड्राइभिङ’ दुर्घटनामा मृत्यु हुनेको यो संख्या पछिल्लो १३ वर्षकै सबैभन्दा उच्च हो ।

त्यसअघि सन् २००९ मा यो केसमा ३ सय ८० जनाको ज्यान गएको थियो ।

त्यसयताका वर्षहरुमा यो संख्या २ सय ६० भन्दा माथि कहिल्यै पुगेको थिएन भने सबैभन्दा न्यून सन् २०१५ मा २ सय रेकर्ड भएको थियो ।

सन् २०२२ मा मादकपदार्थ सेवन गरेका सवारी चालक संलग्न दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या उक्त अवधिमा सबै सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको जम्मा संख्याको १८ प्रतिशत हो ।

यो वर्ष मादकपदार्थ सेवन गर्ने सवारी चालकहरु संलग्न दुर्घटनामा ज्यान गुमाउने वा घाइते हुनेहरुको जम्मा संख्या भने ६ हजार ८ सय छ ।

सरोकारवालाहरुले मादकपदार्थ सेवनका कारण बेलायतका सडकमा अझै पनि वर्षेनी सयौंको मृत्यु हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

सडक सुरक्षाका क्षेत्रमा कार्यरत च्यारिटी ‘आइएम स्मार्ट’ ले पछिल्लो तथ्यांकलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराएको छ ।

बेलायतको सन् १९६७ को सडक सुरक्षा ऐनले सवारी चलाउने चालकको प्रति १ सय मिलिलिटर रगतमा ८० मिलिग्रामभन्दा बढी अल्कोहलको मात्रा पाइए सवारी अपराध ठहर गरेको छ । स्कटल्याण्डमा भने अझै ५० मिलिग्राममाथि अल्कोहल पाइए अपराध मानिन्छ ।

‘ड्रिंक ड्राइभिङ’ को केसमा बेलायतमा कडा सजायको व्यवस्था छ । शरीरमा लिमिटभन्दा बढी अल्कोहल रहेका बेला सवारी चलाएको पाइएमा तीनदेखि ६ महिनासम्म जेल सजाय, जरिवाना, लाइसेन्स प्रतिवन्ध वा खारेजीसम्म नै हुन सक्छ । तर ‘ड्रिंक ड्राइभिङ’का कारण अरु कसैको ज्यान गएको अवस्थामा भने आजीवन कारावाससम्मको कडा सजाय गरिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू