आइतबार, भदौ २३, २०८१
01:14 | ०५:५९

नेपालकै पहिलो महिला मुख्यसचिव बनिन् लिलादेवी गड्तौला

नेपाली लिङ्क जुलाइ २५, २०२४


काठमाडौं- सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

नेपालको निजामती क्षेत्रको इतिहासमा महिलाले नेतृत्व पाएको यो नै पहिलोपटक हो । ०५२ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी गड्तौला नेपालको इतिहासकै पहिलो महिला मुख्यसचिव बनेकी छन् ।

नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी पाउने पनि उनी नै पहिलो महिला हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निमित्त मुख्य सचिवको नेतृत्वको दिएकोमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वरिष्ठताको आधारमा लीलादेवीलाई कामुको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त मुख्यसचिव गड्तौला आउँदो भदौ १५ गते उमेर हदका कारण अवकाशमा जानेछिन् । अब उनले करिब ३५ दिन मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछिन् ।

यसअघिका मुख्यसचिव डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायरपछि उनी निलम्बनमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू