आइतबार, भदौ २३, २०८१
01:08 | ०५:५३

रेडिङमा भव्य प्रिमियरपछि ‘उडल्यान्ड’ टीम उत्साहित, बेलायतभर प्रदर्शन गरिंदै

नेपाली लिङ्क जुलाइ २५, २०२४


लन्डन- बेलायतमा निर्मित नेपाली चलचित्र ‘उडल्यान्ड’को प्रिमियर शो गरिएको छ । रेडिङस्थित द पेभिलियन हलमा गत २० जुलाई अपरान्ह एक भव्य समारोहबीच प्रिमियर गरिएको हो ।

प्रवल सोनाम घिसिङ (प्रेम लामा) को लेखन–निर्देशनमा बनेको उक्त चलचित्र हेर्न ३ सय हाराहारी दर्शक उपस्थित थिए । नेपाली तथा विदेशी दर्शकले चलचित्र सुरुदेखि अन्तसम्म चाख मानेर हेरे । उनीहरूले हलिउड लेभलको नेपाली चलचित्र हेर्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए । फिल्ममा नेपाली र अंग्रेजी भाषा दुवैको बराबर प्रयोग गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि थिए शाक्यलिंक सेन्टरका संस्थापक अध्यक्ष चन्द्रसागर लामा, ग्रेटर नेपाली समाज यूकेका उपाध्यक्ष यादव श्रेष्ठ र वरिष्ठ समाजसेवी सीबी पुन ।

सो अवसरमा अतिथिहरूले फिल्मआवद्ध दुई दर्जन बढी कलाकारलाई खादा, पुष्पगुच्छा र सम्मानपत्रबाट सम्मान गरे ।

दिउँसो साढे ४ बजे सुरु भएको औपचारिक कार्यक्रम सवा ६ बजे सम्पन्न भएको थियो । त्यस लगत्तै स्क्रिन ‘अन’ गरियो ।

चलचित्रमा प्रवल सोनाम घिसिङ, क्रिस एप्पलटन, सलिना थापामगर, सरु गुरुङ, प्रसुना कँडेललगायत दुई दर्जन नेपाली तथा विदेशी कलाकारको अभिनय छ । प्रेमिस भिजन यूकेको प्रस्तुति ‘उडल्यान्ड’ प्रवल घिसिङको पाँचौँ सिर्जना हो ।

एकलाख पाउण्ड बढी लगानी रहेको यो फिल्मका निर्माता व्यवसायीहरु दावा स्याङबो, करम गुरुङ, पूर्ण पाख्रिन, नरेश पुडासैनी र रचना राई हुन् । यसैगरी, संगीत थिम स्टुडियो लन्डन तथा गीत कम्पोजर विक्रम कार्की र स्वर सुगम पोखरेलको छ ।

‘सस्पेन्स एन्ड थ्रिलर’ चलचित्र पहिलोपटक हेर्न पाएको दर्शकले प्रिमियरपछि बताएका थिए । दर्शकहरूले सुरुदेखि ‘अब के हुने हो’भन्दाभन्दै चलचित्र सकिएको थियो ।

दर्शकहरू चलचित्र सकिएपछि पनि हल छाड्न मानेका थिएनन् । कतिपयले त पुनः देखाउन पनि माग गरिरहेका थिए । दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माण टिम उत्साहित  छ ।

दर्शकले चलचित्र औधी मन पराएर केही समयमा नै भाग २ पनि लिएर आउने निर्माण पक्षले प्रतिबद्धता जनाएका थिए । प्रिमियर शो बेलुका साढे ८ बजे सम्पन्न भएको थियो ।

चलचित्र अति नै उत्कृष्ट भएको र समाजको यथार्थ विषयवस्तुलाई समेटेर बनाएको हुनाले यो चलचित्र नभई आफ्नै रियालिटीको प्रतिबिम्ब रहेको यादव श्रेष्ठले बताए ।

आगामी दिनमा पनि यस्तो चलचित्र बनाउन चन्द्रसागर लामाले शुभकामना दिए । अन्त्यमा सीबी पुनले उपस्थित सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे ।

दर्शकको उच्च माग रहेका कारण अर्को शो रेडिङमा नै राख्ने निर्माण पक्षले जनाएको छ । यसैगरी बेलायतभर देखाउनेसमेत योजना छ । निर्देशक प्रवल सोनाम घिसिङ (प्रेम लामा) का अनुसार रेडिङपछि वेम्बली, फेल्थाम, अल्डरसट, वीन्चेष्टर, प्लमस्टिड, ग्रेज, आसफोर्ड, टनब्रीज, बेजिङस्टोक, स्वीन्डन, अक्सफोर्ड, ग्ल्यास्गो, डर्बी, डंकास्टर, ननीटनलगायत क्षेत्रमा पुगेर चलचित्र देखाउने उनीहरुको योजना छ ।

‘उडल्यान्ड’ अन्तर्राष्ट्रिय स्तरमा लैजाने तयारी पनि भइरहेको छ । यस चलचित्रलाई ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसनले १२ ए रेटिङ दिएको छ । जसमा १२ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकसँग मात्र चलचित्र हेर्न पाउँछन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू