बिहीबार, मंसिर ६, २०८१
15:35 | २१:२०

लन्डन अनप्लग्ड: अनप्लग्ड जीवनको घेरामा गोपी

कृष्ण कँडेल जुलाइ २३, २०२४

‘बेलायतमा पाइला र पाङ्ग्रा दुवै तीव्र गतिमा कुदिरहेका हुन्छन् । नेपालमा पाइला र पाङ्ग्राको गति एकदमै कम छ । लाग्छ नेपालमा पाइलाका लागि कुद्ने ठाउँ नै छैन, पाङ्ग्राका लागि गुड्ने ठाउँ नै छैन। कुद्न खोज्ने पाइलाहरू पनि कता कता अल्झिरहेका हुन्छन् । थाहा छैन किन र कसले अल्झाउँछन् , कता कता अलमलिएजस्तै लाग्छ । कुद्न खोज्ने पाङ्ग्राहरू पनि थाहा नपाई ब्रेक लागेर रोकिन्छन्। केही मिलिरहेको छैन, धेरै कुरा मिलिरहेको छैन ।’

यी शब्द आफ्नो नयाँ पुस्तक ‘लन्डन अनप्लग्ड’मा लेखक गोपी सापकोटाले लेखेका हुन् । नेपालमा रहँदा बस्दा गोपीका पाइला उनका समकालिनभन्दा तीव्र गतिमै चलिरहेका थिए । सानै उमेरमा आफ्नो यश कमाएका थिए, बनाएका थिए । तर पनि एकदिन गोपी अचानक काठमाडौँ र उनका दौंतरीहरूलाई थाहै नदिई गायब भए । शायद जीवनको गतिलाई अझै रफ्तारमा अघि बढाउन चाहन्थे गोपी । उनी सिङ्गो गोपी मात्र थिएनन्, आफ्नी सहधर्मिणी गोपीनी अर्थात् निर्मला र छोराछोरीको दायित्व पनि उनको काँधमा थियो । 

त्यसैले एउटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको जागिर छाडेर उनी लन्डन हानिए । लन्डन प्रवासका प्रारम्भिक दिनका कहालीलाग्दा कथा व्यथा र समग्र दक्षिण एशिया, एशिया र अफ्रिकी देशका मानिसहरू सम्वृद्ध जीवनको सपना बुन्दै वैधानिक अवैधानिक सवै बाटाहरूको अवलम्बन गर्दै बेलायत छिरेकाहरूको रोमान्स र दारूण कथाको चित्रण गरेका छन् यो पुस्तकमा । पुस्तक पढ्दा लेखकले इमान्दारीपूर्वक आफ्ना र अरूका कथा सविस्तार उनकै अनुसार आख्यानमा होइन गैर आख्यानमा पस्केका छन् ।

मानिसहरू भौतिक सुविधाको खोजीमा अथवा रोजगारको तीव्र खोजीमा कसरी देश छाडिरहेका छन् । देश छाडे पछिका अनेकन दुःखका पहाडले थिचिरहँदा पनि सवै दुःखको सामना गर्दै बाँच्ने लालसाले मान्छेलाई समयले बलियो बनाउन सिकाउँदो रहेछ, विदेशी भूमिमा पाएका दुःखद र सुखद क्षणको सम्मिश्रणको आधार विन्दु हो- “लन्डन अनप्लग्ड”।

किताबमा स्वतन्त्रताको भरपुर उपभोग गरेका बेलायती ठिटाठिटीहरूको खहरे प्रेमदेखि रोजगारको खोजीमा अनेक अप्ठ्यारा बाटाहरू पार गर्दै बल्लतल्ल बेलायत छिरेकाहरूको रामकहानी छ ।

खुशी कहाँ छ ? खुशी के हो ? यो हरेक मानिसको सोचमा भर पर्ने कुरा हो । कुनै लेखक वा दार्शनिकले भने भन्दैमा खुशीको सुत्र त्यसैमा भेटिन्छ भन्न किमार्थ सकिंदैन । त्यसैले गोपी लेख्छन् – ‘पैसाले खुशीको क्याप्सुल किन्न सकिँदैन, जुन किनेर र खाएर सधैं खुशी भैरहन सकियोस्।’ 

तर पनि पैसाले मानिसको जीवनमा ठूलो प्रभाव पार्छ भन्दै यसैसँग सम्बद्ध विचारलाई समर्थन गर्ने भावमा गोपीले बिल गेट्सको भनाइलाई उद्धरण गरेका छन् । बिल गेट्स भन्छन् “यदि तिमी गरिव भएर जन्मन्छौ भने त्यो तिम्रो गल्ति होइन । तर तिमी गरिब भएर मर्छौ भने त्यो तिम्रो गल्ति हो ।”

बिल गेट्सको यो भनाइसँग हामी असहमत पनि हुन सक्छौं ।

लेखकले यो पुस्तक गैर आख्यान भनिरहँदा स्वरूपको अन्त्य, मारिया र बिर्सने सम्झना लगायत कतिपय शीर्षकका घट्नाक्रम पढ्दा आख्यान जस्तै अनुभूति हुन्छ । मारिया शीर्षकमा गोपीले एक ठाउँमा लेखेका छन् – ‘कफी सेलाए पनि उसको रिस सेलाएको थिएन । मेसेजमा अक्षरसँगै आगो पठाउन मिल्ने भए प्रमिथसलाई नै ईर्ष्या लाग्ने गरी उसले एक भाँडो आगोको भुङ्ग्रो पठाउने थिई ।’

यसैगरि बिर्सने सम्झना शिर्षकमा उनले लेखेका छन् – ‘बेला बेलामा उज्यालो खोज्दा खोज्दै अँध्यारोमा नै फस्दै गइरहेको छु जस्तो लाग्थ्यो । थाहा छैन भविष्यको त्यो मेरो उज्यालो कहाँनेर अड्केर बसेको छ ? कतिखेर फुत्त खस्छ र धमिलिंदै गएको मेरो संसारलाई उज्यालो बनाउँछ ।’

जे होस्, ‘लन्डन अनप्लग्ड’ ले सम्वृद्धिको उज्यालो खोज्दै हिंडेका प्रतिनिधि पात्रहरूका कथा ब्यथालाई जस्ताको तस्तै प्रस्तुत गरेर जीवनको बाटो भूगोलको जुनसुकै कुनामा पुगे पनि आफूले सोचे जस्तो फेरिंदैन जीवन जुन रूपले बग्छ सोही अनुरूप बगाउन सक्नु पर्छ भन्ने सन्देश दिएको छ ।

नेपाली साहित्यमा दरो उपस्थिति जनाएका गोपीले लन्डन प्रवासको अवधिमा यसअघि ‘काँचो कागज’ र ‘चिसो वाफ’ कृति प्रक्षेपण गरिसकेका थिए जसबारे यो पङ्क्तिकारले समिक्षात्मक टिप्पणी गरिसकेकै हो । गोपीलाई आगामी दिनहरूमा अक्षरमा रमाउने उर्जा प्राप्त भई रहोस्, कहीं कतै ब्रेक नलागोस् हार्दिक शुभकामना !

समीक्षक कृष्ण कँडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू