आइतबार, भदौ २३, २०८१
01:16 | ०६:०१

छैठौं हाइक फर नेपाल यसै साता वेल्समा, सहभागी हुन अपील (भिडियो)

नेपाली लिङ्क जुलाइ २३, २०२४


लन्डन । बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन लक्ष्य राखेर वर्षेनी गरिंदै आएको ‘हाइक फर नेपाल’ को छैठौं संस्करण यही साता आयोजना हुंदैछ ।

पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा जुलाई २६ तारिख शुक्रबारदेखि २८ तारिख आइतबारसम्म छैठौं हाइक फर नेपाल सञ्चालन हुन लागेको हो ।

मञ्चले वी वील राइज फाउन्डेसन र नेपाली सोसाइटी ब्रेकन, वेल्ससंगको सहकार्यमा हाइक फर नेपाल गर्दै आएको छ । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ यूके साथै ग्रेटर रेडिङ नेपाली सोसाइटी, रामबजार सोसाइटी यूके र बगर भाइखलक यूकेसहितका संस्थाको पनि सहयोग रहंदै आएको छ ।

आयोजक मञ्चका अध्यक्ष करम गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी नेपालीलिंकलाई दिए । यसपटकको हाइक फर नेपालमा अल्डरसट, रेडिङ लन्डनलगायत क्षेत्रबाट करिब  सय जनाको सहभागिता रहने पक्का भएको उनले बताए ।

हाइक फर नेपालको पहिलो दिन सहभागीहरु ब्रेकनको क्याम्पिङ साइटमा पुग्नेछन् । इभेन्टमा आउटडोर क्याम्प, सेल्फ कुकिङ, नेपाली खानाको स्टल, लाइभ संगीत, डिजे शो तथा बालबालिकाका खेलसम्मका आकर्षणहरु रहनेछन् ।

दोस्रो दिन शनिबार इभेन्टकै प्रमुख कार्यक्रमका रुपमा स्थानीय पिक हिलमा सामूहिक हाइकिङ गरिनेछ । त्यसअघि क्याम्पिङ साइटमा स्थानीय मेयरसहितका अतिथिको सहभागितामा संक्षिप्त शुभकामना कार्यक्रम गरिनेछ । तेस्रो दिन ब्रेकनमा नेपालीहरुको पहलमा निर्माण हुंदै गरेको नेपाली भिलेजको अवलोकन भ्रमण पनि गरिनेछ ।

प्रकृतिको काखमा आउटडोर क्याम्पिङ, सेल्फ कुकिङ, नाचगान र साथीभाइसंगको जमघटदेखि परिवारसहित सहभागी हुन मिल्ने अवसर भएकाले हाइक फर नेपालमा बेलायतका नेपालीहरु रमाउने गरेका छन् । त्यसमाथि नेपालको पर्यटन प्रवर्द्धन र स्थानीय समुदायसंग सांस्कृतिक आदानप्रदानसहितका उद्धेश्यहरु पनि रहेकाले कार्यक्रमलाई थप महत्व दिइने गरेको छ ।

आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले कार्यक्रममा सहभागिताका लागि बेलायतवासी सम्पूर्ण नेपालीलाई अपील गरेका छन् ।

भिडियोमा हेरौं अध्यक्ष गुरुङको अपील:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू