मंगलबार, पुष ९, २०८१
00:08 | ०५:५३

लुम्बिनीमा एमालेका आचार्य मुख्यमन्त्री नियुक्त

नेपाली लिङ्क जुलाइ २२, २०२४


बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा एमाले र नेपाली कांग्रेसका ५६ सांसदले नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष सोमबार मात्रै दाबी पेस गरेका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ जना सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरिएको थियो ।

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले नेकपा एमालेले गर्ने सहमति भएपछि सोमबार एमालेका उपनेता आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रूपमा रहेको नेकपा एमालेसँग २९ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन् ।

लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू