बेलायतको म्यानचेस्टरमा ‘नेपाल दिवस’


लन्डन- बेलायतको म्यानचेस्टरमा २० जुलाई शनिबार ‘नेपाल दिवस’ भव्य रुपमा सम्पन्न भएको छ।
म्यानचेस्टर नेपाली समाज र म्यानचेस्टर म्यूजियमको दक्षिण एसिया ग्यालरीले सह-आयोजना गरेको उक्त समुदाय केन्द्रित कार्यक्रममा म्यानचेस्टरस्थित नेपाली समुदाय र संग्रहालयका आगन्तुकहरुको उत्साहजनक उपस्थिति थियो ।
“नेपाली घरायसी वस्तुहरुको प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, योग सत्र, बालबालिका गतिविधि र डिजिटल फोटो प्रदर्शनीमार्फत नेपालको विविधता झल्काउन कार्यक्रम सफल रह्यो,” कार्यक्रमका संयोजक तथा म्यानचेस्टर विश्वविद्यालयसंग आबद्ध सहायक प्राध्यापक डा. निमेश ढुंगानाले बताए।
सो प्रदर्शनीमा नेपालको क्षेत्रीय, सांस्कृतिक, सामाजिक, धार्मिक र जातीय विविधता झल्काउने गरी प्रदर्शनी आयोजना गरिएको थियो।
कार्यक्रममा नेपाली संस्कृति झल्काउने नाच, गीत, संगीत पनि प्रस्तुत गरिएका थिए ।
उक्त प्रदर्शनीले ब्रिटिश नागरिकहरुलाई नेपालको जनजीवन र संस्कृतिबारे जानकारी दिनुका साथै नेपालको पर्यटन प्रवर्धनमा पनि मद्दत पुगेको डा ढुंगानाले बताए।
कार्यक्रममा म्यानचेस्टर म्यूजियमको दक्षिण एसिया ग्यालरीका निर्देशक नुसरत अहमदले स्वागत मन्तव्य दिएका थिए भने म्यानचेस्टर नेपाली समाजका अध्यक्ष जीवन गौतमले समापन गरेका थिए । कार्यक्रम संचालन म्यानचेस्टरस्थित एक विद्यालयकी शिक्षिका अनिता खड्काले गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५