आइतबार, भदौ २३, २०८१
01:21 | ०६:०६

लुभेनमा नेपाली युवाबीच फुटबल प्रतियोगिता

नेपाली लिङ्क जुलाइ २०, २०२४

बेल्जियम । बेल्जियमस्थित एक गैर नाफामुलक संस्था ‘हाम्रो परिवार’ ले गत १४ जुलाई आइतबार फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

लुभेनको केसेल लोको स्टेडियममा १० टिम सहभागी ७ ए साइड फुटबल उक्त प्रतियोगितामा हाम्रो परिवार टिम वीनर बनेर ३५०० युरो एवं ट्रफी प्राप्त गर्‍यो ।

दर्शक सहभागिता उल्लेख्य रहेको उक्त प्रतियोगितामा ड्रिम टिम हल्यान्ड रनरअप भएर १२५० यूरो एवं ट्रफी जित्यो ।

त्यसैगरि, ११ गोल गरि अनमोल गुरुङ टप स्कोरर भए भने वेष्ट किपरको उपाधि वसन्त मरहठ्ठाले पाए । बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले विजेता टिम तथा खेलाडीलाई पुरस्कृत गरेका थिए।

सो अवसरमा एनआरएनए बेल्जियमकी महासचिव रुविना शर्माको संयोजनमा बालबालिकाको एक समूहले आकर्षक नृत्य समेत प्रस्तुत गरेको थियो ।

आयोजक हाम्रो परिवारका अध्यक्ष सरोज आचार्यले सहयोगी सबैमा कृतज्ञता व्यक्त गरेका छन् । संस्थाले नेपाली युवाहरुलाई एकतावद्ध गर्दै उनीहरुको प्रतिभा उजागर गर्न प्रतियोगिता गरेको आचार्यले बताए ।

उक्त फुटबल म्याच कमिटीका अध्यक्ष सन्देश गुरुङ थिए । गुरुङको पर्यवेक्षणमा खेल भएको हो ।

उक्त संस्थाले आउंदो ४ अगष्टमा बालबालिकाका लागि फेस पेन्टिङ वर्कसप समेत गर्ने भएको छ।

संस्थाले उक्त वर्कसपमा सहभागिताका लागि बालबालिकालाई प्रेरित गर्न अभिभावकसमक्ष अपिल गरेको छ । जम्मा २५ जना बालबालिकामात्र सहभागी हुन सक्ने भएकाले जतिसक्दो छिटो नाम दर्ता गराउन पनि संस्थाको अनुरोध छ । बालबालिकाले प्राप्त गर्ने एक सेट फेस पेन्टिङ सामग्री घरमै लैजान पाउने संस्थाले जनाएको छ । 

हाम्रो परिवारले युवाहरूलाई एकताबद्ध गर्दै नेपालको कला संस्कृति जगेर्ना गर्न विभिन्न चाड पर्व र खेलकुद गतिविधि गर्दै आएको छ ।  

‘युवाका लागि अवसरहरू सिर्जना, नेपाली सांस्कृतिक परम्पराको जगेर्ना, समावेशीता एवं एकता प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो’, अध्यक्ष सरोज आचार्यले भने ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू