शुक्रबार, माघ ११, २०८१
20:10 | ०१:५५

बेलायतको गुल्मेली भेला ४ अगष्टमा, यस्ता छन् आकर्षण

नेपाली लिङ्क जुलाइ १९, २०२४


लन्डन । बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुने प्रमुख कार्यक्रममध्ये एक गुल्मेली भेला आगामी अगष्ट पहिलो साता हुने भएको छ ।

अगष्ट ४ तारिख आइतबार लन्डन फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स एण्ड लिजरको मैदानमा गुल्मी जिल्ला समाज यूकेले १६ औं वार्षिक भेला गर्ने भएको हो ।

बेलायतभरबाट करिब १५ सय गुल्मेलीको सहभागिता अपेक्षा गरिएको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुले लाइभ सांगीतिक प्रस्तुति गर्नेछन् ।

प्रथम नौमति बाजा गुल्मी यूके समूहको प्रस्तुतिका साथै विविध मौलिक गुल्मेली सांस्कृतिक कार्यक्रमहरु भेलाका थप आकर्षण रहनेछन् ।

भेलामा प्रमुख अतिथिका रुपमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल आउनेछिन् । आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी अगष्ट महिनाभित्रै नेपाल फर्किन लागेकी उनलाई सोही अवसरमा संस्थाको तर्फबाट बिदाई समेत गर्ने समाजको योजना छ ।

कार्यक्रममा विशेष अतिथिका रुपमा यस वर्ष पहिलोपटक गुल्मी जिल्लाका सबै स्थानीय पालिका प्रमुखहरुलाई निम्त्याइएको समाजका महासचिव महलाल घिमिरेले नेपाली लिंकलाई जानकारी दिए । गुल्मीका १० गाउँपालिका र दुई नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका सभापति समेतलाई निमन्त्रणा पठाइएको उनले बताए ।

भेलाकी संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमको तयारीका कामहरु भइरहेको जानकारी दिइन् । कार्यक्रममा प्रस्तुति गर्ने राष्ट्रिय स्तरका दुई लोकदोहोरी कलाकारको भिसा आवेदन भइसकेको जनाउँदै उनले हाल बेलायतमै रहेका अरु केही कलाकारसमेतले कार्यक्रममा प्रस्तुति गर्ने जानकारी दिइन् ।

कार्यक्रममा विश्वभर छरिएर रहेका गुल्मेलीहरुको भावनालाई प्रतिबिम्वित गर्ने पहिलो गुल्मेली स्वागत गीत पनि विमोचन गरिनेछ ।

भेलामा राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति र नौमती बाजासंगै गुल्मेली झयाउरे, ठाको भाकादेखि भजन र तीज गीतसम्मका नाचगानहरु गर्ने गरिन्छ ।

कार्यक्रमस्थलमा विभिन्न व्यपारिक स्टहरु पनि राखिनेछ । त्यस्तै, बालबालिकाका लागि बाउन्सी क्यासलसहितका मनोरञ्जन पनि रहनेछन् ।

कार्यक्रममा सहभागी हुन लन्डन र आसपासबाहेक मिडल्यान्ड, वेल्स स्कटल्यान्डबाट समेत सयौं गुल्मेलीहरु आउने गर्छन् । कतिपय शहरहरुबाट कोच नै बुक गरेर समेत गुल्मेलीहरु भेलामा जम्मा हुने गरेका छन् ।

समाजका अध्यक्ष रुद्र थापाले गुल्मी जिल्ला समाजको आयोजना रहेपनि भेलामा बेलायतवासी सबै नेपालीलाई स्वागत गर्न आतुर रहेको बताए ।

‘यो बेलायतका विभिन्न क्षेत्रमा छरिएर रहेका हामी गुल्मेलीहरुको वार्षिक भेटघाट मात्रै होइन, यहाँका अरु नेपालीहरुको पनि सुखद जमघटको अवसर बनोस् भन्ने हाम्रो चाहना छ’, अध्यक्ष थापा भन्छन्, ‘कार्यक्रममा सहभागी हुन र गुल्मी जिल्लामा प्रचलित विविध सांस्कृतिक प्रस्तुतिहरुमा मनोरञ्जन लिन म बेलायतका सबै नेपालीलाई आव्हान गर्दछु ।’

जुलाई ३० भित्र अग्रिम खरिद गर्दा कार्यक्रममा सहभागिताको लागि टिकट शुल्क २० पाउण्ड छ । ६ देखि १२ वर्षसम्मका बालबालिकालाई भने मात्र १२ पाउण्ड लाग्नेछ । तर, त्यसपछि भने टिकट शुल्क २५ पाउण्ड लाग्नेछ। टिकटमै फ्रेस बारबीक्यूका साथै मेन कोर्स बफेट खाना पनि समावेश हुनेछ ।

कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ ।

Screenshot

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू