शुक्रबार, माघ ११, २०८१
20:09 | ०१:५४

पत्रकार महासंघ यूके निर्वाचन: छर्न खोजिएको भ्रम र यथार्थ

ध्रुवराज अर्याल जुलाइ १७, २०२४

अधिवेशनमा शाखाका तत्कालिन अध्यक्ष ध्रुवराज अर्याल । तस्विर- मिलन तमु

नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन विमला सेनेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्दै गत आइतबार सम्पन्न भयो ।

अधिवेशनपछि सामाजिक सञ्जालमा आएका केही सदस्य साथीका स्टाटस र फरक मत अनि तीनले आम समुदाय समेतमा जन्माउन सक्ने केही अन्योल र जिज्ञासा हटाउने चेष्टाले शाखाको तत्कालीन अध्यक्षका रुपमा केहि लेख्ने जमर्को गर्दैछु । मैले नेतृत्व गरेको प्रक्रियाका बारेमा भ्रमहरु छरिएको पाएपछि वास्तविकता उजागर गर्ने मेरो कर्तव्य सम्झिएको हुं, विवाद चर्काउने नियत छैन ।

मेरो नेतृत्वमा निर्वाचित भएको नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको तीन वर्षे कार्यकाल गत जुन १३ तारिख पूरा हुंदै थियो । त्यसैले संस्थाको विधि र अभ्यासका हिसाबले पनि कार्यकाल पूरा भएको तीन महिनाभित्र (सेप्टेम्बर १३) भित्रै अधिवेशन सम्पन्न गर्दा प्राविधिक रुपमा कुनै समस्या वा अन्यथा हुने थिएन।

मेरो व्यक्तिगत चाहना भने तीन महिनाको उक्त ग्रेस अवधि उपयोग नगरेरै जुन १३ भित्रै अधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने भन्ने थियो ।

यही बीचमा नेपाल पत्रकार महासंघ केन्द्रमा भने निर्वाचन अन्योलपूर्ण बन्यो । पहिलोपटक निर्धारित मितिमा हुन नसकेर स्थगित भएको केन्द्रको निर्वाचन कहिले हुन्छ यकिन भएन । त्यसैले अनौपचारिक संवादका क्रममा केन्द्रीय अध्यक्ष, महासचिवलगायतका पदाधिकारीले बेलायत शाखाको निर्वाचनलाई हतार नगरौं, बिस्तारै तयारी गर्नुस् भन्ने आशय प्रकट गर्नुभएको थियो ।

केन्द्रीय नेताहरुले हतार नगर्न भनेपनि बेलायतका पत्रकार साथीहरुले भने अधिवेशन चाँडै गर्न हतारो गरिरहनुभएको थियो । विशेषतः कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष (पछि अध्यक्ष उम्मेदवार) दिनेश परियार र पूर्व अध्यक्ष चिरन शर्माले मलाई मात्रै नभइ कार्यसमितिका अरु पदाधिकारी र पूर्व अध्यक्षहरु समेतसंग भेटेर वा टेलिफोन गरेरै पनि अधिवेशन चाँडो गर्ने माहोल बनाउन कोशिस गरिरहनुभएको थियो । उहाँहरुले तत्कालीन अध्यक्षका रुपमा ध्रुव अर्यालले अधिवेशन गर्नै चाहन्न भन्ने गलत भाष्यसम्म निर्माण गर्न खोजेको जानकारी मलाई थियो ।

कार्यसमितिमा छलफलका क्रममा केन्द्रको आशय हतार नगरौं भन्ने छ भन्दा अरु धेरै साथीहरु कन्भिन्स हुनुहुन्थ्यो । तर तत्कालिन वरिष्ठ उपाध्यक्ष दिनेशजी र महासचिव नरेन्द्रजी समेतले अलि बढी नै हतार गर्नुभएपछि सबैको सहमतिमा अन्ततः जुलाई १४ लाई अधिवेशन निर्धारण गरिएको थियो ।

त्यसअघि शाखाको सदस्यताका लागि निर्धारित समयसीमाभित्र प्राप्त आवेदनहरुमाथि छलफल गरी स्वीकृत सदस्यताको टुंगो लागिसकेको थियो । स्मरण रहोस्, सदस्यता सिफारिशसम्बन्धि निर्णयमा सिंगो कार्यसमितिका पूरै पन्ध्रै जना पदाधिकारीको सर्वसम्मति थियो, विवादको कुनै गुञ्जायस थिएन।

सोहि बैठकले नै सर्वसम्मत रुपमै शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई निर्वाचन समितिको प्रमुख तोकेको थियो ।

सदस्यता टुंगो लगाएर, अधिवेशन मिति तोकेर र निर्वाचन समिति समेत बनाइसकेपछि शाखा स्वभावतः अधिवेशनमा होमियो । त्यहीबीच जेठ २३ को मितिमा केन्द्रीय अध्यक्षले सबै वैदेशिक शाखा अध्यक्षलाई सम्बोधन गरी लेखिएको पत्र मेरो व्यक्तिगत इमेलमा प्राप्त भयो । पत्रमा केन्द्रको निर्वाचन प्रक्रिया पूरा नभएकाले अधिवेशन नतोक्न र नयाँ सदस्यता वितरण शुरु नगर्न भनिएको थियो ।

केन्द्रीय अध्यक्षको पत्रबारे कार्यसमितिमा छलफल गराएं । त्यतिञ्जेल केन्द्रको निर्वाचनको मिति दोस्रोपटक तोकिएको थियो असार २२ लाई । केन्द्रको निर्वाचनका लागि दोस्रो मिति तय भइसकेको र हाम्रो अधिवेशन मिति केन्द्रको निर्वाचनभन्दा एक साता अझै पछि रहेकाले हामी रोकिनु आवश्यक छैन भन्ने सबै साथीहरुको मत आयो । असार २२ मा केन्द्रको निर्वाचन सम्पन्न हुने र यदि भएन भने पनि बेलायत शाखाको अधिवेशन अनिश्चितकाललाई रोक्न नहुने भन्ने निष्कर्षमा बैठक पुग्यो । अन्ततः कार्यसमितिको सर्वसम्मत निर्णयले अधिवेशन जुलाई १४ मै अघि बढाउने निधो गरियो ।

बैठकको निर्णयअनुसार नै मैले केन्द्रीय अध्यक्ष र महासचिवलाई पत्र लेखेर शाखाले केन्द्रीय निर्वाचनका लागि तोकिएको मितिभन्दा एक साता पछिको मितिमा अधिवेशन तोकिसकेको तथा केन्द्रको पत्र प्राप्त हुनुअघि नै सदस्यता टुँगिएको र निर्वाचन समिति गठन गरेर प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा जुलाई १४ मै अधिवेशन गर्ने शाखाको निर्णयबारे जानकारी गराएं ।

उक्त पत्रको कुनै औपचारिक जवाफ आएन, हाम्रो अधिवेशन अगाडि बढ्यो । केन्द्रीय अध्यक्ष र महासचिवसंग मेरो अनौपचारिक सम्पर्क भइरह्यो, उहाँहरुले दुवैले हरेकपटक सबैलाई मिलाएर लैजानु भन्नुभयो, तर अधिवेशन रोक्न कहिल्यै भन्नुभएन ।

हाम्रो अधिवेशनमा केन्द्रीय प्रतिनिधिको विषयमा केही कुतर्कयुक्त प्रश्न उठाइएको देखें । महासंघ केन्द्रीय समितिका एक वरिष्ठ पदाधिकारी रहेका लेखा समिति संयोजक लेखनाथ न्यौपानेजी केन्द्रीय प्रतिनिधिका रुपमा अधिवेशनमा सहभागी हुनुभयो, सम्बोधन गर्नुभयो ।

प्रत्यक्ष प्रसारण गरिएको अधिवेशनमै उहाँको सहभागिता नदेख्ने, केन्द्रीय प्रतिनिधिका हैसियतमा गरेको सम्बोधन नसुन्ने केही साथीहरुले केन्द्रीय प्रतिनिधि तोकिएको पत्र खै भनेर अधिवेशनको वैधानिकतामै प्रश्न उठाउने कुचेष्टा गर्न सुहाउँछ र ?

अहिले महासंघ केन्द्रसमेत दुई दुई पटकसम्म तोकिएको मितिमा निर्वाचन गर्न नसकेपछिको संकटपूर्ण अवस्थामा छ । तर बेलायत शाखाले भने सदस्यताको सिफारिश, अधिवेशनको मिति निर्धारण र निर्वाचन समिति गठनदेखि उम्मेदवारी मनोनयनसम्मका सबै काम पूर्ण सहमतिमा गर्न सफल भएको छ । अनि दुई तिहाई बढी सदस्यको सक्रिय सहभागितामा उल्लासमय रुपमा अधिवेशन सम्पन्न भएको छ । कयौं चुनौतिहरुबीच पनि आवधिक निर्वाचनमार्फत् प्रजातान्त्रिक रुपमा नेतृत्व हस्तान्तरणको काम पूरा भएको छ ।

केन्द्रले समेत सम्पन्न गर्न नसकेको काम समयभित्रै गरेर उदाहरण प्रस्तुत गरेकोमा बेलायत शाखालाई त बधाई दिनुपर्ने होइन र ? धन्यवाद भन्नुपर्ने होइन र ? केन्द्रले समेत बेलायत शाखाबाट प्रेरणा लिएर यथासक्य निर्वाचन सम्पन्न गर्नेतर्फ अघि बढ्नेछ भन्ने हामीलाई विश्वास छ ।

यता बेलायतमा शाखाका सबै सदस्यहरु र आम समुदायलाई पनि म आग्रह गर्न चाहन्छु सामाजिक सञ्जालमा देखिएको भरमै निष्कर्ष बनाउने होइन, तथ्य बुझ्ने कोशिस गरौं ।

प्रक्रियामा सबै मिलेको छ, सबैको सहमति छ । उम्मेदवारी मनोनयनसम्म पनि सबैको चित्त बुझेकै छ । उल्लासमय रुपमा शाखाका अधिकांश सदस्यको सहभागितामा अधिवेशन सम्पन्न भएको छ । समयमै अधिवेशन सम्पन्न भएर प्रजातान्त्रिक ढंगले नेतृत्व हस्तान्तरण भएको छ ।

डेढ महिनाअघि केन्द्रबाट आएको पत्रबारे संस्थामा छलफल हुंदा अधिवेशन रोक्नै हुन्न भनेर अडान लिने अध्यक्षका आकांक्षी मित्रले त्यसको महिना दिनपछि उम्मेदवारी दर्ता गराउँदासम्म पनि सबै प्रक्रिया मिलेको तर निर्वाचनको अघिल्लो दिन अचानक सोही पत्रकै कारण अधिवेशनमा प्रक्रिया नमिलेको दाबी गरेबाट नै स्पष्ट हुंदैन र यहाँ विवाद प्रक्रियामा हैन, पदमा हो भनेर ?

नमिलेको सबैलाई अध्यक्षको पद हो । त्यो पनि बिस्तारै मिल्दै जान्छ । हिजो मलाई मिल्यो, आज अर्कोलाई मिल्यो । भोलि फेरि अरु कसैलाई पनि पक्कै मिल्नेछ ।

सबै सदस्य साथीहरुलाई म अपील गर्न चाहन्छु, सबै कुरा संस्थाभित्रै सम्भव छ । कुनै समस्या नै छन् भने पनि समाधान सम्भव छ । तर संस्थाभित्र छलफल गरौं, सहमति बनाऔं र समाधान खोजौं । पहिले नै सम्बोधन भइसकेका, मिति गुज्रिएका पत्र देखाएर तथ्यहरु बंग्याउने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम बन्द गरौं । संस्थाको गरिमा घटाउने काम बन्द गरौं ।

पत्रकार महासंघ बेलायत शाखामा विधि, विधान मिचियो कि भन्ने चिन्ताले निदाउनै नसकेका हाम्रो समाजका केहि अभियन्तालाई पनि आग्रह छ, धमिलो पानीमा माछा मार्ने कोशिस नगर्नुहोस्। सामाजिक अभियन्ताको खोल ओढेर पत्रकारको संस्था भाँड्ने नियतले अधिवेशन बिथोल्न लागि परेका तर विफल भएपछि अत्तालिएका तपाईंहरुको यथोचित मुल्यांकन शाखा र यसका सदस्यहरुले अवश्य गर्नेछन् ।

बुझ्न चाहनेहरुलाई वास्तविकता बताउने कोशिस गरें । बुझेर पनि नबुझेजस्तै गर्ने र आलोचनामै रम्नेहरुलाई भने मात्र सहानुभूति ! धन्यवाद ।

-अर्याल शाखाका निवर्तमान अध्यक्ष हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू