आइतबार, भदौ २३, २०८१
01:22 | ०६:०७

पोर्चुगलका राष्ट्रपतिसंग नेपाली प्रतिनिधिको भेटवार्ता, स्मारिका हस्तान्तरण

नेपाली लिङ्क जुलाइ १५, २०२४


लिस्बन- गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सौसासंग नेपालसहित विभिन्न देशका आप्रवासी प्रतिनिधिहरुले आइतबार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति निवास बेलेम प्यालेस लिस्बन पुगेर उनीहरुले केही महिनाअघि पोर्चुगल सरकारले परिवर्तन गरेको आप्रवासी सम्बन्धी कडा नीति नियम र प्रक्रियाहरुले उत्पन्न समस्या र परेको कठिनाइबारे राष्ट्रपति मार्सेलोसंग आफ्नो समस्या राखेका थिए ।

पोर्चुगलको नेपाली समुदायको प्रतिनिधित्व गर्दै राष्ट्रपति निवास बेलेम पुगेका एआरएनए आइसीसी सदस्य राजकुमार थापाले आफ्नो समुदायको सवाल र चासोहरु राष्ट्रपतिलाई अवगत गराएका थिए ।

नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष समेत रहेका थापाले पोर्चुगलमा रहेका नेपालीहरुको रेजिडेन्सी कार्ड बन्ने प्रक्रियामा भएको कठिनाइ, पारिवारिक पुनर्मिलनका लागि भोग्नुपरेको समस्या र ढिलाइ, काम गर्ने स्थान र कम्पनीमा हुने अनेकौं असमानता, विभिन्न कानुनी र कागजातहरु बनाउन परेको कठिनाइका बारेमा आफुले राष्ट्रपतिलाई जानकारी गराउँदै समस्या समाधानमा पहल गरिदिन आग्रह गरेको र राष्ट्रपतिले आफूले राखेको कुरा ध्यानपूर्वक सुनेर जिज्ञासाको जवाफ समेत दिएको बताए ।

उक्त अवसरमा थापाले आफैं सम्पादक रहेको गैरआवासीय नेपाली संघ पोर्चुगलले प्रकाशित गरेको तर सार्वजनिक गरिनसकेको ‘नेपाल–पोर्चुगल दर्पण स्मारिका–२०२४’ पहिलो प्रति राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।

उक्त पुस्तकमा राष्ट्रपतिले हस्ताक्षर गर्दा नेपाल पोर्चुगलको साँस्कृतिक, सामाजिक सम्बन्धका बारेमा राम्रो स्मारिका निकालेकोमा धन्यवाद दिंदै राष्ट्रपतिले आफूलाई नेपाली खाना समेत असाध्यै मनपर्ने बताएको थापाले जानकारी दिए ।

आप्रवासीका लागि ऐक्यवद्धता एसोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वमा आप्रवासी सोलिडारिटी, ओल्हो भिभो, नेपाल, केप भर्डे, गिनी, बंगलादेश र ब्राजिलका आप्रवासीहरूका प्रतिनिधिहरु संलग्न सात सदस्यीय प्रतिनिधिमण्डलले पोर्चुगलमा सक्रिय ५१ वटा आप्रवासी संघ–संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेको ज्ञापनपत्र समेत राष्ट्रपति मार्सेलो समक्ष बुझाइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू