शुक्रबार, माघ ११, २०८१
20:09 | ०१:५४

तीन पुस्तक विमोचन गर्दै लन्डनमा उत्साहपूर्वक मनाइयो भानु जयन्ती

नेपाली लिङ्क जुलाइ १५, २०२४

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेले पुस्तक विमोचन, कविता वाचन, प्रवचन लगायत विविध साहित्यिक कार्यक्रम गरि २११औँ भानु जयन्ती मनाएको छ ।

वेस्ष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा आइतबार आयोजित समारोहमा कोमल मल्लको कविता संग्रह ‘माटोसँग के मागुँ’, ध्रुव केसीको ‘ईन्द्रायणीदेखि बेलायतसम्म’ जीवनी र डा. गोपाल पौड्यालको ‘प्रिय चरी’ खण्डकाव्य गरि तीन पुस्तक एकैदिन विमोचन गरियो ।

समारोहका प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ‘ओबीइ’ ले ति कृति विमोचन गरेका हुन्।

मन्तव्यका क्रममा धितालले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरेर  बेलायतमा नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान र इतिहास रचेको स्मरण गरे ।

डा. धितालले परिषद्का अध्यक्ष कवि कोमल मल्ल, समाजसेवीहरु ध्रुव केसी, गोपाल पौड्याल जस्ता सर्जकका पुस्तकरू प्रकाशन गरेर परिषदले नेपाली साहित्य विकासमा थप योगदान पुरयाएको चर्चा पनि गरे । प्रमुख अतिथि डा. धितालले परिषद्की सहअध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान पनि गरे ।

समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पार्दै भाषा साहित्य विश्लेषक एवं कानूनविद डा. धर्म थापाले त्यसबेला अत्यन्त अविकसित समाज रहेको त्यो कालखण्डमा भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए, त्यो आफैंमा एक साहसिक कदम र यसले नेपाली साहित्यको यात्रा तथा सामाजिक चेतना एवं एकता जागरण गर्न महत्वपूर्ण योगदान पुरयाएको टिप्पणी गरे ।

थापाले विश्वलाई नेपालले मानव समाजका लागि अतुलनीय संस्कृति दिएको चर्चा गर्दै आलोचकहरूले भानुभक्तका नारीमा समर्पित केही उपदेशमुलक कविताहरूको गलत अर्थ्याएर आलोचना गर्ने गरेपनि यथार्थमा आदिकविले नारी सम्मान र अस्मिता रक्षाको पक्षमा ती कविताहरू रचेका स्मरण गरे ।

परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्दै नेपाली पहिचान युग युगसम्म जीवन्त राख्न नेपाली भाषा साहित्य, संस्कृति जस्ता चिनारीहरू जोगाउंदै लैजानुपर्ने औचित्यतर्फ जोड दिए ।

यसअघि परिषद्का पूर्व अध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्व सञ्चालक खगेन्द्र नेपालीले कोमल मल्लको विमोचित कविता सङ्ग्रह ‘माटोसँग के मागुँ’ माथि समीक्षा गर्दै पुस्तकभित्र कोमलले सिङ्गो देश बोकेका र विसंगति विकृतिप्रति निडर भएर उभिएका उल्लेख गरे । मल्लले पुस्तकभित्र मायाप्रीति देखि देशभक्ति र राष्ट्रिय चिन्तनसम्मका अत्यन्त सटिक, मार्मिक कविता, गीत र मुक्तकहरू समेटेर एउटा संतुलित साहित्यिक खुराक पस्केको पनि उनको भनाइ थियो ।

पूर्व अध्यक्ष नेपालीले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्नरूपले भिजेको बताउंदै परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य परिषद्को स्थापनाकालदेखि नै निरन्तर गर्दै आएको चर्चा गरे ।

यसैगरी परिषद्का संस्थापक तथा पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले समारोहमा विमोचित ध्रुव केसीको ‘ईन्द्रायणीदेखि बेलायतसम्म’ जीवनी र डा. गोपाल पौड्यालको ‘प्रिय चरी’ खण्डकाव्यबारे समीक्षा गरे । शाहले लेखक केसीले ‘ईन्द्रायणीदेखि बेलायतसम्म’ पुस्तकमा आफ्नो जीवनका कलिला पक्षदेखि वर्तमान अवस्थासम्म समयको गति र जीवन प्रवाह उतारेको बताए ।

केसीले पुस्तकभित्र व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन गरी तीन पक्षमा समर्पित आफ्नो जीवनका गतिविधिहरू दस्तावेजमा उतारेर भावी पिंढीलाई प्रेरणामूलक एवं अनुकरणीय इतिहास सुम्पेका बताए ।

यसैगरी शाहले गोपाल पौडेलले ‘प्रिय चरी’ खण्ड काव्यमा एक जोडी चराको दाम्पत्य जीवनको कथा बुनेर सृष्टि र चराचर जगतको अन्तरसम्वन्ध एवं सौन्दर्यलाई बढो मार्मिक श्लोकहरूमा एउटा दर्शन चित्रण गरेको उल्लेख गर्दै प्रकृतिको रचनामा मानव जगत अरू चराचर जगत जतिकै सौन्दर्य, प्रवाहक हुन नसकेको र विनासको कारक बनेकाले  प्रकृतिलाई असैह्य बनाएको सन्देश प्रस्टाएका जनाए ।

कार्यक्रम सञ्चालन गर्दै परिषद्की सह-अध्यक्ष डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको बताइन् ।

स्वागत मन्तव्यका क्रममा परिषद्का सहअध्यक्ष रेशम अर्यालले जसरी समग्रमा नेपाली भाषा साहित्यका कुरा आउँदा हामी सधैं आदिकवि भानुभक्तलाई सम्झने गर्दछौं, त्यसरी नै सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लागे आदिकविप्रति सच्चा श्रद्धाञ्जली पुग्ने धारणा राखे ।

आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यापर्णबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गरेका थिए भने परिषद्का सल्लाहकार तथा पूर्व सह-अध्यक्ष डा. गोपाल पौड्यालले भानुभक्तले आफ्ना छोरालाई लेखेको हस्त लिखित चिठी पढेर सुनाए ।

दोस्रो चरणको कवि गोष्ठीमा कवि कवयित्रीहरु वसन्त रायक्षेत्री, हरिसंह थापा, ध्रुव केसी, रेशम अर्याल, रूक्मणी मानन्धर, डा. सुधा श्रेष्ठ, गोपाल पौडेल, कोमल मल्ल, सुरेशजंग शाह, घन बहादुर थापा मगर, वासु शर्मा र वासुदेव सापकोटाले कविता वाचन गरे ।

कार्यक्रमको अन्तमा परिषद्का अध्यक्ष मल्लले आर्थिक तथा भौतिक सहयोग पुरयाउने विशिष्ट व्यक्तित्वहरू डा. राघव प्रसाद धिताल ‘ओबीइ’ तथा डा. जनककुमारी धिताल, खगेन्द्र नेपाली, घनबहादुर थापा मगर तथा कृष्णा थापा मगर, ध्रुव केसी, गोपाल पौडेल, यती महासचिव टंक भट्टराई, कोहिनूर मल्ल, ज्ञानेन्द्र राउत, डा. सुधा श्रेष्ठ र एबीआइ कलेजका डाइरेक्टर तथा परिषद्का सल्लाहकार कृष्ण भट्टप्रति आभार प्रकट गरे ।

समारोहमा सह-अध्यक्ष रेशम अर्यालले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू