२४ घण्टामा पहिरोले लियो १५ जनाको ज्यान, दुईवटा बस त्रिशुलीमा खसे
काठमाडौँ, असार २८ गते । विगत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११, म्याग्दीमा दुई र चितवनमा एक जना गरी १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।
उता, नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा दुईवटा बस खसेका छन् । बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनीहरू बिहीबार साँझ ७ः३० बजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । “बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ”-उनले भने ।
खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए । “हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ”, उनले थपे, “बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।”
टाउँकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उपचार गररेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँचजना दुर्घटनामा परेका हुन् ।
“काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो”- उनले स्मरण गरे, “पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।”
बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए, “जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।”
उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो ।
हाल बेपत्ता बसको खोजीकार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५