शुक्रबार, माघ ११, २०८१
23:22 | ०५:०७

राजदूत ज्ञानचन्द्र आचार्य आइतबार नेपाल फर्कंदै, दूतावासमा विदाई

नेपाली लिङ्क जुलाइ ११, २०२४

लन्डन —बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य यही आइतबार नेपाल फर्कने भएका छन् । दिउसो कतार एयरवेजमार्फत उनी सपरिवार नेपाल फर्कन लागेका हुन् ।

नेपाल सरकारले गत ६ जुनमा बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

राजदूत आचार्य सन् २०२२ जनवरी अन्तिममा राजदूत नियुक्त भएका थिए । उनले ३१ मार्च २०२२ मा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

आचार्यले बिहीबार सांझ लन्डनस्थित दूतावास भवनमा आयोजित विदाई समारोहमा आफ्नो झण्डै अढाई वर्ष कार्यकालका उपलब्धिबारे अवगत गराए ।

बेलायत र नेपालबीचको वहुपक्षीय सम्बन्ध विस्तृत र अझ गाढा बनाउन आफूले सक्दो प्रयास गरेको उनले बताए । त्यसमा बेलायतको नेपाली समुदाय, वुद्धिजिवी, सामाजिक अभियन्ता सबैको योगदान रहेको भन्दै उनले प्रशंसासहित सबैमा धन्यवाद पनि दिए ।

उनले आगामी दिनमा पनि बेलायत र नेपालबीचको सम्बन्ध अझ बढी सुदृढ र विस्तृत हुंदै जान्छ भन्ने विश्वास व्यक्त गर्दै नेपालीहरुको योगदानको उच्च मूल्यांकन गरेको बताए ।

आफ्नो क्षमताले भ्याएसम्म राजदूतको जिम्मेवारी पुरा गरेको उनको भनाइ थियो ।

बेलायत नेपाल सम्बन्ध सन् १८१६ बाट शुरु भएको स्मरण गर्दै आचार्यले त्रिपक्षीय सन्धि र गोर्खा बलियो सम्बन्धको जग रहेको पनि उनले उल्लेख गरे । पारस्परिक सम्मान, समझदारी, सहयोग र सहकार्य दुई देशबीचको प्रगाढ सम्बन्धका आधारभूत सिद्धान्तहरू रहेको आचार्यले बताए ।

आफू र पत्नी सुनिताले बेलायती महारानीको प्लेटिनम जुब्ली देखि राजाको राज्याभिषेक, आमनिर्वाचन जस्ता ऐतिहासिक क्षणमा प्रत्यक्ष साक्षी बस्न पाएको उल्लेख गर्दै आचार्यले सर किअर स्टार्मर नेतृत्वको नयां सरकारलाई बधाई पनि दिए ।

लेबर सरकारको नेतृत्वमा बेलायत र नेपालबीचको सम्बन्ध निरन्तर अगाडि बढ्ने विश्वास गर्दै उनले आफ्नो कार्यकालमा बेलायत र नेपाल सरकारका मन्त्रीहरु, दुवै देशका संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान, प्रहरी र सैन्य अधिकृतहरुको आपसी भ्रमण, द्विपक्षीय संयन्त्र बैठक, भूतपूर्व गोर्खाहरुका समस्या समाधानका लागि विभिन्न चरणमा मन्त्रिस्तरिय वार्ता भएका पनि उल्लेख गरे । गोर्खा वार्ताले निरन्तरता पाएर उनीहरुका समस्याको दीर्घकालिन समाधान निस्कने विश्वास उनको थियो ।

दुई देशबीच सहकार्य र सहयोग एवं सामाजिक आर्थिक रूपान्तरणका लागि कयौं पटक राजनीतिक(कूटनीतिक भेटघाट तथा संवाद भएका पनि उनले स्मरण गरे । गत वर्ष बेलायत नेपाल मैत्री सन्धिको एक सय वर्ष पुगेको अवसरमा बेलायती विदेश मन्त्रालयसहित अन्य संघसंस्थाको सहकार्यमा कयौं कार्यक्रम, बेलायती प्रधानमन्त्रीको कार्यालयमा नेपाली समुदायका लागि विशेष कार्यक्रम भएको पनि उनले उल्लेख गरे । बेलायत व्यापार र लगानी साझेदार मात्र नभई यो एक प्रमुख विकास साझेदार पनि रहेको उनको भनाइ थियो ।

बेलायतले जलवायू परिवर्तन, भौतिक पूर्वाधार जस्ता क्षेत्रमा सहयोग बढाइरहेको र आउंदो १० वर्षभित्र ४०० मिलिअन पाउण्ड लगानीको प्रतिवद्धता भएको पनि उनले अवगत गराए । आफ्नो कार्यकालमा सगरमाथा आरोहणको ७० औं वार्षिकोत्सव, पर्यटन प्रवर्धन कार्यक्रम, लगानी-आइटी सम्मेलन आदि कार्यक्रम गरिएको आचार्यले जानकारी दिए ।

झण्डै १६ मिनेट मन्तव्य दिएका राजदूत आचार्यले दूतावासका कूटनीतिक र स्थानीय कर्मचारीप्रति कृतज्ञता पनि व्यक्त गरे ।

उक्त कार्यक्रममा दूतावासकी नियोग उपप्रमुख रोशन खनालले सबैलाई स्वागत गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू