ब्रिटिस एजुकेशन ग्रुपद्वारा क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण


लन्डन–ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ ।
नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालन गरिरहेको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी) अधिग्रहण गरेको हो ।
सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको छ । सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकता पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेश एडमिनिष्ट्रेसन, भेटेरीनरी असिष्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टू डी–थ्री डी एनिमेशन एण्ड डिजिटल आर्टस् विषयहरु अध्यापन गराउँदै आएको छ ।
स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्दै एमबीसीले रोजगारको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गर्दै आएको छ । अब ब्रिटिस एजुकेशन ग्रुपले सो कलेज खरिद गरेसँगै लन्डनस्थित द उलवीच कलेजमा रहेका केही पाठ्यक्रमहरु थप गर्ने योजना बनाएको छ ।
शैक्षिक नेटवर्क विस्तार गर्दै लगेको ब्रिटिस एजुकेशन ग्रुपका सीइओ राजन कँडेलले शताब्दी भन्दा लामो इतिहास बोकेको एमबीसी अधिग्रहण गरेपछि प्रतिक्रिया दिँदै भने, ‘हामी आफ्ना विद्यार्थीहरुलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभवहरू प्रदान गर्न प्रतिवद्ध छौं । यस अधिग्रहणले नेपाल, दुबई र क्यानडाका हाम्रा क्याम्पसहरूबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्नेछ, जसले हाम्रो ग्लोवल सिटिजन निर्माण गर्ने दृष्टिकोणलाई थप प्रवद्र्धन गर्नेछ ।’
सीइओ कँडेलले ६ महिना बढी समयको अधिग्रहण प्रकृयामा सहभागी सबैलाई साथै क्यानडामा रहेका नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गर्दै कृतज्ञता व्यक्त गरे ।
ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, दुबई र लन्डनमा शैक्षिक संस्थाहरु सञ्चालन गरि विद्यार्थी तथा कर्मचारीहरुलाई ग्लोवल एक्सपोजर प्रदान गरिरहेको छ । पछिल्लो समय अधिग्रहण गरेको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताका लागि महत्वपूर्ण उपलब्धि भएको ग्रुपको विश्वास छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५