ब्रिटिश गोर्खाहरुलाई किन र कस्तो नागरिकता निरन्तरता ?



तस्बिर- एमओडी
ब्रिटिश गोर्खाहरुलाई नेपालको सार्वभौमिकता, राष्ट्रियता बचाउन सन् १८१६ मा तत्कालीन नेपाल सरकारले ईष्ट इण्डिया कम्पनी (बेलायत) संग सुगौली सन्धि गरि बेलायती सैन्य सेवामा पठाउन आरम्भ गर्यो । गोर्खा भर्तीलाई थप औपचारिकता दिन ९ नोभेम्बर १९४७ मा त्रिपक्षीय सम्झौता गरि गोर्खाहरु बेलायती राष्ट्रिय सैन्य सेवामा रहेपनि नेपाली नागरिक नै रहनेछन् भाडाका सेनाका हैसियतमा रहने छैनन् भनिएको छ । तर अहिले नेपाल कै संविधान र ऐनले गोर्खाहरुलाई गैर नेपाली बनाउने स्थिति बनेको छ ।
अब प्रश्न के उठ्छ भने, स्वतन्त्र राष्ट्र नेपालको नागरिकहरु कसरी अर्को स्वतन्त्र देशको राष्ट्रिय सेना हुन सक्छन् ? यदि मित्र राष्ट्रलाई सहयोग स्वरुप सैन्य सहयोग दिएको हो भने गोर्खाहरुले बेलायती राष्ट्रिय सेनाका हैसियतले बेलायती अंगीकृत नागरिकता प्राप्त गरेपनि उनका बंशजको नेपाली नागरिकता यथास्थिति मै कायम रहने प्रष्ट ब्यवस्था हुन अनिवार्य छ ।
नत्र नेपाल सरकारले गोर्खा भर्ती अन्तर्गत नेपाली नागरिकहरुलाई भाडाका सेनाका रुपमा बेलायत सरकारलाई बेचेको ठहर्दैन र ? कारण बेलायती राष्ट्रिय सेनाको हैसियतले गोर्खाहरुले बेलायती नागरिकता लिन पाउने उनका अधिकार साथै वाध्यता पनि हो । तर, नेपालको वर्तमान नागरिकता ऐनले विदेशी नागरिकता लिनासाथ नेपाली नागरिकता कायम नरहने ब्यवस्था गरेको छ ।
यस अर्थमा ब्रिटिश गोर्खा तथा गोर्खा सन्ततिहरुले बाध्य भएर नेपाली नागरिकताबाट वञ्चित हुनुपर्ने दुःखद एवं अन्यायपूर्ण स्थिति बनेको छ।

सन्तोष थलङ
त्यसैले नेपाल सरकारले तत्काल संविधान र नागरिकता ऐन संशोधन गरि ब्रिटिश गोर्खा र तिनका सन्ततिहरुलाई बेलायती अंगीकृत नागरिकता प्राप्त गरेपनि उनका बंशजको नेपाली नागरिकता यथास्थितिमा निरन्तर रहने ब्यबस्था यथाशीघ्र गर्नु पर्दछ ।
नेपाली बंशजको नागरिकता र बेलायती अंगीकृत नागरिकता बाहक गोर्खा र तिनका सन्ततिहरुको राजनैतिक अधिकारको हकमा राष्ट्रिय सुरक्षा (National security) लाई मध्यनजर गर्दै, मतदान अधिकार (Voting right) लाई सुरक्षित राख्दै प्रत्यक्ष नेपाली राजनीतिको कुनैपनि तहमा उम्मेदवारी दिन चाहेको खण्डमा निजले बेलायती नागरिकता त्यागेर मात्र सहभागी हुन पाउने प्रावधान राख्न सकिन्छ ।
तर ब्रिटिश गोर्खाहरुलाई गैरआवासीय नेपाली नागरिकता कै प्रावधानले सम्बोधन गर्छ भन्ने ब्याख्या गरिनु ऐतिहासिक गल्ती हुन्छ । किन कि ब्रिटिश गोर्खा र आम गैरआवासीय नेपालीको पृष्ठभूमि र अवस्था पूर्णरुपमा भिन्न रहेको यथार्थ माथि पनि उल्लेख गरिएको छ ।
अतः उल्लेखित “राजनैतिक” प्रावधान राखेर भएपनि ब्रिटिश गोर्खाहरुको वंशजको नेपाली नागरिकतालाई निरन्तरता दिने तत्काल ब्यवस्था गरि नेपालको पहिचान र गौरवका रुपमा रहेका साथै दिगो वैदेशिक विप्रेषणका श्रोत समेत रहेका ब्रिटिश गोर्खा समुदायका नेपाली राष्ट्रियतालाई अक्षुण्ण राख्नु देशको लागि फाइदा मात्र नभइ सरकारको विशेष दायित्व पनि हो ।
त्यसैले यस्ता राष्ट्रियता र नागरिकका गम्भीर विषयमा संविधान संसोधनका लागि शीघ्र पहल हुन संघीय सरकार तथा जनप्रतिनिधि माननीय संघीय संसदहरुको ध्यान आकर्षित हुन जरुरी छ।
(लेखक थलङ भूतपूर्व गोर्खा हुन्)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५