आइतबार, भदौ २३, २०८१
01:19 | ०६:०४

क्यान्सर जितेर लन्डनमा दुई विजनेश (भिडियो)

नेपाली लिङ्क जुलाइ ११, २०२४

लन्डन । गत वर्ष जुलाई १ मा झण्डै ४ सय जनाको क्याटरिङ सकेर राती २ बजे घर फर्कंदै थिइन् संगीता मगर । दिनभरको थकान तर सफलतापूर्वक क्याटरिङ सकेर फर्कंदा उनी दंग थिइन्, मनमा आत्मसन्तुष्टि पनि थियो ।

तर, दुर्भाग्य एकछिनमै गाडी दुर्घटना भयो । १४ वर्ष ड्राइभिङ गर्दा केही भएको थिएन तर एउटा कहालीलाग्दो सपना जस्तै उनले अर्को गाडीलाई बेस्सरी ठोक्काइन् । गाडी बिग्रियो, धन्न मान्छेलाई केही भएन । अर्को गाडीवाला समझदारीमा समस्या टुंग्याउन राजी भयो, घर गइन् ।

बिहान एउटा स्वास्थ्य परीक्षणको रिजल्ट आउनेवाला थियो, निन्द्रा परेन । स्तनमा गांठो बढ्दै गएपछि छोरी शुभेच्छाकै जोडबलमा उनले ब्रेष्ट क्यान्सरको शंका लागेर परीक्षण गराएकी थिइन् । रिपोर्ट लिन छोरी पनि अस्पताल गएकी थिइन् ।

रिपोर्ट हेरेपछि डाक्टरले भन्यो- तपाईंमा क्यान्सर देखिएको छ, तर निको हुन्छ । ‘यस्तो सुनेर म निकै बेर रोएं’, संगीताले त्यो अत्यासलाग्दो क्षण सम्झिइन्, ‘डाक्टरले नआत्तिन भने । छोरीले मम्मी केही हुंदैन्, नरुनुस् भनेर हौसला दिइन् । अनि ममा आत्मबल बढ्यो ।’

क्वीन एलिजावेथ हस्पिटल वुलवीचमा उपचार शुरु भयो । किमो दिएको पहिलो डोजदेखि नै उनलाई निकै गारहो भयो । कपाल झर्न थाल्यो । छोरीले नै आमाको कपाल काटिदिंदा पहिलो पटक छोरी पनि रोइन् । ८ वर्षको छोराले आमा भन् राम्री देखिनु भएको छ, म तपाईंजस्तै कपाल काट्छु भन्यो । सिंगल आमा, छोराछोरीको उर्जाबाट उनले मन दरहो बनाउंदै लगिन् ।

उपचारका क्रममा संगीता

‘बच्चाबच्चीले धेरै सपोर्ट गरे । बाबालाई सम्झिएं । मेरो बुबा दिनभर रमाइलो गरेर, बेलुका भैंसी दुहेर सुतेको मान्छे बित्नु भएको थियो । मर्नु छ भने यसै पनि मरिंदो रहेछ भन्ने भयो । त्यसपछि दुःख मान्न छाडें’, उनले स्मरण गरिन् ।

५ वटा किमो गर्दासम्म उनलाई प्रत्येकपटक ४-५ दिन सुताउंथ्यो । १० महिनामा १६ वटा किमो सकिएपछि दुईपटक अप्रेसन भयो । फेरि कस्तो दुर्भाग्य भने पहिलो अप्रेसन सफल भएन । त्यही बेला अप्रेसन गरेको १० दिनमा उनी ह्वीलचियरमा नेपाल जानु पर्‍यो इमरजेन्सी काम परेर । आइतबार फर्किएर सोमबार नै अर्को अप्रेशन गर्नु परेको संगीताले सम्झिइन् ।

उपचारका क्रममा संगीता

क्यान्सरजस्तो प्राणघातक रोग लागिसकेपछि मानिस हत्तपत्त सक्रिय जीवनमा फर्कन खोज्दैनन् । तर संगीताको सक्रियता झन् बढेको छ ।

क्यान्सर जितिसकेपछि ‘अब त म जे पनि गर्न सक्छु, चुनौति सामना गर्न सक्छु’ भन्ने आत्मविश्वास उनमा बढेको छ ।

क्यान्सर बिरामीलाई के सुझाव दिनुहुन्छ ? उनी भन्छिन्, ‘आफूलाई व्यस्त राख्नुपर्ने रहेछ, अनि सकारात्मक सोच्नुपर्छ ।’

उनी निको भएपछि अहिले फेरि भलिबल खेल्ने गर्छिन्, १० किमी दौड्ने गर्छिन् । घरमै लडेर नबसी विभिन्न क्रियाकलापमा लाग्न उनको सुझाव छ ।

संगीताले विगत एक वर्षदेखि प्लमस्टिड स्टेशन छेउमै टपरी म:म (पहिले नमस्ते रेष्टुरेन्ट) सञ्चालन गरिरहेकी छन् । संगैको कफीसप ‘ब्रीउ स्टेशन’ भने विगत ८ वर्षदेखि चालु छ ।

सन् २०२३, जुन १ मा ओपन गरेको रेष्टुरेन्ट अहिले निकै व्यस्त छ ।

बाटो आवतजावत गर्दा उनले नमस्ते रेष्टुरेन्ट देखिरहन्थिन् । त्यो रेष्टुरेन्ट किन्न मिले किन्थें भन्ने सोचिरहेकी उनी अन्ततः सफल पनि भइन् । फरक नाम राखेर टपरी मःम शुरु गरेपछि विजनेश ह्वात्तै बढ्न थाल्यो ।

‘अर्गानिक टपरी प्लेटमा खान पाइने, मिठो र नेपालीलाई टपरी नामले पनि आकर्षित गरेको छ’, उनी भन्छिन् ।

यस रेष्टुरेन्टमा कोदो फापरको ढिंडो, नेपाल खोटांगबाट ल्याइने रांगाको सुकुटी, सुकुटी चटपटे, ममः चाउमिन जस्ता परिकार कष्टमरले धेरै रुचाउने गरेको उनी बताउंछिन् । खानामा टिपीकल नेपाली स्वाद छ ।

‘हाम्रोमा करिब १५ वर्षदेखि कार्यरत अनुभवी सेफ राम खड्काले खाना बनाउनुहुन्छ’, उनले सुनाइन् ‘विजनेश भनेर पैसा भन्दा पनि ग्राहकलाई खुशी बनाउने र पाहुनालाई जस्तो आतिथ्य दिइने भएर कष्टमर आइराख्नु हुन्छ ।’

यहां आउटडोर क्याटरिङ, होम डेलिभरी र टेक वेको पनि व्यवस्था छ । सातै दिन दिउसो १ देखि राती १० बजेसम्म रेष्टुरेन्ट खुल्छ भने कफी सप बिहान ५ देखि दिउसो तीन बजेसम्म खुल्छ ।

दुई विजनेशबाट ७ जनाले जागिर पाएका संगीताले जनाइन् । रेष्टुरेन्टमा करिब २५ जनासम्मको पार्टी गर्न पनि मिल्छ ।

संगीताको विगत

सोलुखुम्बु नेले बजारकी संगीताका बुबा इण्डियन आर्मीमा हुनुहुन्थ्यो । ग्रोसरी पसल र होटल पनि थियो । मम्मीले चलाइरहेको विजनेशमा सानै छंदा पनि सघाउंथिन् संगीता ।

सन् २००७ मा वर्क परमिट भिजामा बेलायत आइन् उनी । ओमान र दुबईमा ३ वर्ष काम गरेर लन्डन साइत गरेकी थिइन् उनले ।

बेलायतमा नेपाली महिलाले नै हांकेका विजनेश ज्यादै कम छन् । थोरै महिला उद्यमीमा पर्छिन् उनी । बेलायत आएयता करिब १० वर्ष रेष्टुरेन्टमा काम गरेकाले पनि उनले रेष्टुरेन्ट चलाउन धेरै सास्ती खेप्नु परेन ।

‘शुरुतिर बिहान ५ बजे कफी पसल खोल्नुपर्ने हुन्थ्यो । गाडी पार्किङ गरेर ७-८ मिनेट हिंड्दै आउंदा वीन्टरमा विभिन्न खालका मान्छे भेटिन्थे तर अप्रिय केही भएन’, उनले सुनाइन् ।

उनको भनाइमा समग्रमा व्यवसाय चलाउन सजिलो भने छैन् । ‘शुरुमा त धेरै खटिएं । अहिले पनि ६ घण्टा मात्र सुत्छु । कफी सप र रेष्टुरेन्ट दुवैको व्यवस्थापन, डेलिभरी, सपिङ सबै आफैंले गर्दा फूर्सद नै पाउंदिन’, उनले सुनाइन् ।

संस्थामा संलग्न नभई समाजसेवा गर्ने महिला हुन् उनी । उनकै पहलमा चाल्टर्न क्षेत्रमा महिला भलिवल प्रतियोगिता शुरु भएको थियो ।

ग्रीनवीच भलिवल परिवार स्थापना र महिलाहरुको भलिबल प्रतियोगिता शुरुवात गर्न उनको उल्लेख्य भूमिका छ ।

संगीताको सानो परिवार

२२ वर्षीया छोरी शुभेच्छा भारती र ९ वर्षका छोरा कृष्णवकै खुशीका लागि दुःख गरिरहेकी छन् संगीता । तीक्ष्ण दिमागकी शुभेच्छा अतिरिक्त क्रियाकलापमा पनि अगाडि छन् ।

उनले पल शाहलगायत कलाकारसंग तीनवटा म्यूजिक भिडियो खेलिसकेकी छन् । उनी बास्केटबल खेल्न जर्मनीमा तीन वर्ष बसेकी थिइन् । छिट्टै इटाली जाने तरखरमा छिन् ।

हेरौं संगीता मगरसंग नेपालीलिंकको भिडियो संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू