शुक्रबार, माघ ११, २०८१
23:17 | ०५:०२

म्यानचेष्टरमा लन्डन दूतावासको पर्यटन प्रवर्धन कार्यक्रम

नेपाली लिङ्क जुलाइ १०, २०२४


लन्डन । लन्डनस्थित नेपाली दूतावासले मंगलबार सांझ म्यानचेष्टरमा नेपाल प्रवर्धनको उद्देश्यसहित ‘नेपाल इभिनिङ’ गरेको छ ।

लन्डनमा हरेक वर्ष पर्यटन प्रवर्धन कार्यक्रम गर्दै आएको दूतावासले यसपटक इङ्ल्यान्डको म्यानचेष्टरमा गरेको हो ।

उक्त कार्यक्रममा ट्राभल टुर अपरेटर्स, नेपालप्रेमी बेलायती, बेलायतका लागि पर्यटनदूतहरु महन्त श्रेष्ठ, धन सार्की एवं स्थानीय नेपालीहरुको सहभागिता थियो । 

इभेन्टमा हिमालयन यती एसोसिएसन यूके अध्यक्ष पुष्प श्रेष्ठको विशेष सहयोग थियो ।

कार्यक्रम सम्बोधनका क्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल घुम्न जुन सिजन पनि उपयुक्त भएको बताउंदै बेलायती नागरिकलाई नेपाल भ्रमण गर्न अपिल गरे ।


उनले नेपालमा हिमाल आरोहणमात्र नभई ट्रेकिङ (पद यात्रा), र्‍याफ्टिङ लगायत साहसिक पर्यटन, वन्यजन्तु, धार्मिक-सांस्कृतिक सम्पदा अवलोकन जस्ता कयौं आकर्षण भएको उल्लेख गरे ।

मोटिभेशनल स्पिकर तथा चर्चित आरोही एलान हिन्क्सले आफ्नो नेपाल आरोहणको अनुभव सुनाउंदै नेपालमा पाएको आतिथ्य सत्कारको प्रशंसा गरे ।

उनी ८ हजार उचाई माथिका सबै १४ हिमाल आरोहण गर्ने पहिलो ब्रिटिश पर्वतारोही हुन् ।

कार्यक्रममा लर्ड मेयर पल एन्ड्रियूजले नेपाल-बेलायत सम्बन्ध, नेपालको प्राकृतिक सौन्दर्य आदिबारे चर्चा गरेका थिए ।


कार्यक्रममा दूतावासकी नियोग उपप्रमुख रोशन खनालले नेपालको पर्यटन आकर्षण सम्बन्धि एउटा ‘पावर प्रिजेन्टेसन’ गरेकी थिइन् ।

सो अवसरमा किशोरीहरुले आकर्षक नेपाली नाच प्रस्तुत गरे ।

कोभिडपछि नेपालको पर्यटन पुरानै लयमा फर्किएको व्यवसायीहरुले बताउंदै आएका छन् । बेलायतबाट नेपाल जाने पर्यटकहरुको संख्या पनि बढ्दो छ । नेपालको अर्थतन्त्रमा पर्यटनको प्रमुख योगदान छ ।

सबै तस्बिरहरु: नेपाली दूतावास

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू