शुक्रबार, कार्तिक २, २०८१
05:05 | ०९:५०

पुटिन विरोधी नाभाल्न्यालाई गिरफ्तार गर्न आदेश

रासस/एएनआई जुलाइ १०, २०२४

तस्विर रोयटर्स

मस्को (रूस), असार २६ गते । मस्कोको एक अदालतले दिवंगत विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीकी पत्नी युलिया नाभाल्न्यालाई उनी देशमा नरहेको समयमा पक्राउ आदेश दिएको उनका प्रवक्तालाई उद्धृत गर्दै मङ्गलबार सिएनएनले जानकारी गराएको छ ।

प्रवक्ता किरा यर्मिसले सामाजिक सञ्जालमार्फत जानकारी दिए अनुसार मस्कोको बासमनी जिल्ला अदालतले नाभाल्न्यालाई ‘चरमपन्थी सङ्गठनमा संलग्न भएको’ आरोप लगाएको छ ।

नाभाल्न्याको नाम पनि अन्तर्राष्ट्रिय ‘वाञ्छित सूची’मा समावेश गरिएको रूसी सञ्चारमाध्यम आरआईए नोभोस्तीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

अदालतले नाभाल्न्यालाई थप हिरासतमा राख्न रूसको अनुसन्धान समितिको अनुरोधलाई अनुमति दिएको छ । विज्ञप्तिमा नजरबन्दको अवधि रूसी क्षेत्रमा सम्भावित उनको नजरबन्दबाट गणना गरिनेछ । यद्यपि नाभाल्न्या भने अहिले रूसभन्दा बाहिर बस्दै आएकी छन् ।

चरमपन्थी समुदायलाई उक्साएको तथा वीत्त पोषण गरेको विभिन्न अपराधमा दोषी ठहर गरेपछि १९ वर्षको सजाय भोगिरहेका नाभाल्नीको साइबेरियाको जेलमा गत फेब्रुअरी १६ मा मृत्यु भएको थियो ।

उनलाई पहिले नै अपराध र अन्य अभियोगमा अधिकतम सुरक्षा सुविधामा साढे ११ वर्षको सजाय भएको थियो । उनले भने आरोपहरू अस्वीकार गरेका थिए र यसलाई राजनीतिबाट प्रेरित पनि भनिएको थियो ।

उच्च–प्रोफाइलका रूसका विपक्षी नेता नाभाल्नीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै वर्षौँ बिताएका थिए । उनको मृत्यु मार्च १५ मा सुरु हुने रूसको राष्ट्रपतीय चुनावको केही हप्ता अघि भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू