शुक्रबार, माघ ११, २०८१
00:32 | ०६:१७

बेलायती आमचुनाव: लेबर पार्टीलाई बहुमत, अब स्टार्मर प्रधानमन्त्री

नेपाली लिङ्क जुलाइ ५, २०२४


लण्डन—बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ । बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी रहे पनि घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ ।

अन्तिम केही क्षेत्रको नतिजा बाँकी रहंदा लेबर पार्टीले ४ सय ११ सिट जितिसकेको छ । निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन् । सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ ।

त्यस्तै प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी भने १ सय १९ सिटमा मात्र विजयी भएको छ । त्यस्तै लिबरल डेमोक्रेटिक पार्टी ७१ सिटमा विजयी भएको छ । एसएनपीको ८ सिट छ।

रिफर्म यूकेका नेता नाइजेल फराज पहिलोपटक सांसद बनेका छन् । ४ सिट जितेको उनको दक्षिणपन्थी पार्टीले कन्जरभेटिभको भोट तानेको हो ।

लेबरले पछिल्लो चुनावमा जितेको भन्दा दोब्बर बढी र हाउस अफ कमन्समा १७० को बहुमत पाउने भएको छ।

लेबरका अन्तिम निर्वाचित प्रधानमन्त्री सर टोनी ब्लेयरले सन् १९९७ मा जितेको ऐतिहासिक १७९ बहुमतको तुलनामा त्यो अलिकति कम छ।

मत सर्वेक्षणहरूले २०१० देखि सत्ता सम्हालिरहेको कन्जरभेटिभ दलले नराम्रो पराजय भोग्ने देखाएका थिए । मतदाताहरूले १४ वर्षमा पहिलो पटक लेबर पार्टीलाई सत्तामा फर्काउने अपेक्षा गरिएको थियो।

सोही अपेक्षाअनुसारको चुनावी परिणाम देखिएको छ । सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहेका कन्जरभेटिभ नेता ऋषि सुनकले आफ्नो पार्टीलाई चुनावमा अगुवाइ गरे पनि नराम्रो पराजय भोग्नुपरेको छ । प्रधानमन्त्री सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन् ।

लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु छ ।

त्यस्तै, नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय (वेटिङ टाइम) घटाउनु, बोर्डर सुरक्षा कमान्ड वा दस्ता बनाउनु प्रमुख प्राथमिकता हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू