शुक्रबार, माघ ११, २०८१
00:30 | ०६:१५

लन्डनका सफल व्यवसायी फत्त थापाको ‘हार्ट अट्याक’ का कारण निधन

नेपाली लिङ्क जुलाइ ४, २०२४


लन्डन- बेलायतको नेपाली समुदायका एक सफल व्यवसायी एवम् समाजसेवी फत्त थापाको अल्पायुमा निधन भएको छ ।

साउथ इष्ट लन्डनको एल्थाममा बस्दै आएका उनको ५२ वर्षको उमेरमा सोमबार बेलुका असामयिक निधन भएको हो ।

ठीकठाक अवस्थामा घरमै बसिरहेका थापालाई राती करिब ११ बजेको समयमा ह्दयघात भएको र केही समयको अन्तरालमा एम्बुलेन्स आइपुग्दा मृत्यु भइसकेको उनको परिवारनिकट गुल्मी जिल्ला समाज यूके सल्लाहकार खड्क रेश्मीले नेपालीलिंकलाई जानकारी दिए।

प्यारामेडिक टोलीले मृत घोषणा गरेपछि उनको शवलाई पोष्टमार्टमको लागि लगिएको छ । स्वर्गीय थापाका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं २ (साबिक हस्तिचौर गाविस ५) ताल्तुङमा सन् १९७२ मा जन्मिएका थिए थापा । गाउँमा प्राथमिक तहको अध्ययनपछि भारतीय सेनामा जागिरे बाबुसंगै भारतको बनारसमा पुगेका उनले त्यहांको केन्द्रीय विद्यालयबाट स्कुल तथा युपी कलेजबाट अंग्रेजी विषयमा ब्याचलर अनर्स डिग्री पूरा गरेका थिए ।

सन् १९९६ मा विद्यार्थी भिसामा बेलायत आएका थिए थापा । वुल्वीचस्थित तत्कालीन ग्रीनवीच म्यारिटाइम कलेजका सञ्चालकमध्ये उनी पनि एक हुन् ।

कलेज व्यवसायबाट बाहिरिएर केयर क्षेत्रमा हात हालेका उनले पछिल्लो समय लोभलाग्दो व्यवसायिक सफलता हासिल गरेका थिए । स्वर्गीय थापाको स्वामित्वमा साउथ इष्ट लन्डनमा ‘होम इन्स्टेड’ नाम केयर कम्पनीका तीन वटा शाखा सञ्चालनमा छन् ।

सामाजिक क्षेत्रमा समेत विशेष रुची राख्ने स्वर्गीय थापाको खास लगाव र सक्रियता गुल्मी जिल्ला समाज यूकेमा थियो । समाजका संस्थापक सचिव रहेका उनी त्यसयता लगातार एक सक्रिय सल्लाहकारको भूमिकामा थिए।

हालै मात्रै नयाँ कार्यसमिति चयन हुंदा उनले प्रमुख निर्वाचन आयुक्तको भूमिका निर्वाह गरेका थिए । समाजले हालै शुरु गरेको समाजको गुल्मी हाउस प्रपर्टी प्रोजेक्टमा समेत थापालाई नेतृत्वदायी जिम्मेवारी दिइएको थियो ।

एनआरएनए यूकेमा समेत पूर्व सल्लाहकार उनले विगतमा डमर घले अध्यक्ष रहेको पालामा कार्यसमिति सदस्यकै रुपमा काम गरेका थिए । त्यस्तै, पशुपतिनाथ मन्दिर प्लमस्टिडमा पनि थापा ट्रस्टी बोर्ड सदस्य थिए ।

गुल्मी जिल्ला समाज यूकेलाई अपूरणीय क्षति

संस्थाका संस्थापक सचिव एवम् सल्लाहकार थापाको असामयिक निधनप्रति गुल्मी जिल्ला समाज यूकेले गहिरो दुख व्यक्त गरेको छ ।अध्यक्ष रुद्र थापाले उनको निधनबाट समाजलाई सांच्चीकै अपूरणीय क्षति पुगेको भन्दै परिवारमा समवेदना व्यक्त गरेका छन्।

अध्यक्ष थापाले मंगलबार स्वर्गीय थापाको घरमै पुगेर संस्थाका तर्फबाट परिवारलाई समवेदना दिंदै आवश्यक साथ, सहयोगको प्रतिवद्धता जनाएका थिए ।

समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले स्वर्गीय थापालाई एक साहसी, बुद्धिजीवी, स्पष्टवक्ता र सहयोगी व्यक्तित्वका रुपमा स्मरण गरिरहने बताए । संस्थापक सचिवदेखि निरन्तर सल्लाहकारका रुपमा गुल्मी जिल्ला समाज यूके स्थापना र विकासमा उनले अतुलनीय योगदान पुर्‍याएको काउछाले सम्झिए ।

स्वर्गीय थापाका बालसखा समेत रहेका समाजका सल्लाहकार खड्क रेश्मीले उनको निधनले सबै साथीभाइ र इष्टमित्रहरुलाई विक्षिप्त बनाएको बताए ।

‘सबैसंग मिल्न सक्ने, कसैलाई केही पर्‍यो भन्दा सहयोग गर्न पछि नपर्ने वहाँको स्वभाव थियो । उहाँ र मेरो संयुक्त पहलमा केही वर्षअघि मात्रै बेलायतमै रकम जुटाएर हाम्रो गाउँको स्कुल भवन निर्माण गरेका थियौं’, रेश्मीले नेपालीलिंकसंग भावुक बन्दै भने, ‘हामी साथीभाइ, आफन्तले मात्र होइन, हाम्रो सिंगो समाजले नै एक रत्न गुमाएको महसुस हामीले गरेका छौं ।’

पोस्टमार्टमको प्रक्रिया पूरा भएपछि मात्रै अन्त्येष्टिको तयारी थालिने रेश्मीले जानकारी दिए ।

आफ्नो मामाको निधनप्रति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले पनि दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । माइजु सोनियाको इच्छामा फत्तको दाईलाई अन्त्येस्टिमा नेपालबाट झिकाउन प्रक्रिया शुरु गरेको पनि गाहामगरले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू