मंगलबार, पुष ९, २०८१
12:40 | १८:२५

कांग्रेस-एमाले नयाँ गठवन्धन, ओली र देउवा पालैपालो प्रधानमन्त्री

नेपाली लिङ्क जुलाइ २, २०२४

फाइल तस्विर

काठमाडौं-  नेपालका दुई प्रमुख दलबीच सत्ता साझेदारीको सहमतिसहित नयाँ गठवन्धन बनेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यरातमा हस्ताक्षर भएको सहमतिअनुसार दुवै दलले पालैपालो सरकारको नेतृत्व गर्नेछन् ।

कांग्रेस र एमालेबीच वर्तमान संसदको बाँकी तीन वर्ष कार्यकालमा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो डेढ वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो डेढ वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने बताइएको छ । यसैगरी ३/३ प्रदेशको नेतृत्व कांग्रेस र एमालेले लिने भएका छन्। मधेश प्रदेश भने मधेशकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ।

एमालेले कोशी, लुम्बिनी र कर्णाली पाउनेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने सहमति छ ।

यसैबीच, कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति/आयोग बनाउने सहमति पनि भएको छ। आयोगले दिने सुझावका आधारमा संविधान संशोधन र निर्वाचन प्रणाली सुधार गर्ने तयारी छ।

दुई प्रमुख दलबीच भएको गठवन्धनमा अहिले सरकारमा रहेको रास्वपा सहभागी नबन्ने भएको छ । तर, मधेशवादी दल र राप्रपा भने नयाँ गठवन्धनमा सहभागी बन्ने सम्भावना देखिएको छ ।

नयाँ गठवन्धनको सहमतिपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर प्रचण्ड भने तत्काल राजीनामा नगरेर संसदमै विश्वासको मतको सामना गर्ने मनस्थितिमा पुगेका छन् ।

नेकपा एमालेले वर्तमान प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले तीस दिनभित्र संसदमा फेरि विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू