शुक्रबार, माघ ११, २०८१
00:38 | ०६:२३

साउथ इष्ट लन्डनका नेपाली ड्राइभिङ प्रशिक्षकले गरे पहिलो जमघट

नेपाली लिङ्क जुलाइ १, २०२४


लन्डन- साउथ इष्ट लन्डनमा कार्यरत नेपाली ड्राइभिङ प्रशिक्षकहरुले पहिलोपटक जमघट गरेका छन् ।

आइतबार बेक्सलीहिथस्थित ड्यान्सन पार्कमा भएको कार्यक्रममा नेपालीमूलका स्थानीय तीस जना ‘एडिआई’ (एपरुभ्ड् ड्राइभिङ इन्सट्रक्टर) हरुको सहभागिता थियो।

साउथ इष्ट लन्डनलाई कार्यक्षेत्र बनाएर ड्राइभिङ प्रशिक्षण गराउँदै आएका शंकर अर्याल, सुष्मा भण्डारी अर्याल, लक्ष्मण न्यौपाने, विष्णु ज्ञवाली, गोकुल न्यौपानेलगायतको पहलमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा उनीहरुबीच आआफ्ना अनुभव साटासाटका साथै एकआपसमा हुन सक्ने व्यवसायिक सहकार्य र सरसहयोगको विषयमा पनि छलफल भएको थियो ।

अनौपचारिक रुपले आयोजित कार्यक्रममा ड्राइभिङ प्रशिक्षकका साथै उनीहरुका परिवारका सदस्य पनि सहभागी थिए । उनीहरुले सो अवसरमा पिकनिक र नाचगान समेत गरेर मनोरञ्जन गरेका थिए ।

‘एकै क्षेत्रमा रहेर एउटै पेशामा सक्रिय नेपाली हुनुको नाताले एकआपसमा परिचय गर्ने र व्यवसायिक सहकार्य तथा सहयोग बढाउने हाम्रो उद्धेश्य हो’, कार्यक्रमका एक पहलकर्ता विष्णु ज्ञवालीले भने, ‘पहिलो कार्यक्रम नै सफल बन्यो, उल्लेख्य सहभागिता भयो । अब यो सम्पर्क र सम्बन्ध निरन्तर अगाडि बढाउँछौं ।’

साउथ इष्ट लन्डनका नेपाली ड्राइभिङ प्रशिक्षकहरुको नेटवर्क बनेपछि अनुभवहरु आदानप्रदानबाट व्यवसायिक सीप तथा दक्षता बढाउन सहयोग पुग्ने र कुनै एकलाई समस्या पर्दा समूहले सहयोग गर्न सक्ने अवस्था बन्ने अर्का प्रशिक्षक लक्ष्मण न्यौपानेले बताए ।

साउथ इष्ट लन्डनमा कार्यरत अरु नेपाली ड्राइभिङ प्रशिक्षकलाई पनि नेटवर्कमा जोड्दै जाने योजना उनीहरुको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू