आइतबार, भदौ २३, २०८१
01:01 | ०५:४६

नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्षमा रस्मितासिंह दर्लामी निर्वाचित

नेपाली लिङ्क जुन ३०, २०२४

लन्डन । बेलायतका नेपाली नर्सहरुको पेशागत संस्था नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्षमा रस्मितासिंह दर्लामी निर्वाचित भएकी छन् ।

शनिवार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न संस्थाको सातौं अधिवेशनले रस्मिता नेतृत्वको नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा इन्दिरा बस्याल तिवारी, महासचिव श्रीजा डंगोल, सांस्कृतिक सचिव प्रजु सापकोटा र सदस्यहरुमा अन्जना खतिवडा, सुनिता बोहोरा कार्की र अल्पना अधिकारी (जीटुजी प्रोजेक्टमा नेपालबाट आएकी नर्स) लाई चुनेको छ।

कोषाध्यक्ष, सह कोषाध्यक्षसहित केही सदस्यहरु आठौं कार्यसमितिको पहिलो बैठकले चयन गर्नेछ ।

एसोसिएसनकी पूर्व अध्यक्ष प्रसुना कंडेल संयोजक रहेको निर्वाचन समितिले नयां कार्यसमिति घोषणा गरेको थियो ।

निर्वाचन समितिमा संस्थापक अध्यक्ष अजिता सिम्खडा, पूर्व अध्यक्षहरु विनोदविकास सिम्खडा, वासु लामिछाने र सुशीला कार्की, प्रोफेसर डा. राधा अधिकारी, सुमन श्रेष्ठ, सोलिसिटर राजु थापा (कानूनी सल्लाहकार) लगायत आवद्ध थिए ।

अध्यक्ष रस्मिता दर्लामी

नवनिर्वाचित अध्यक्ष दर्लामी यसअघि उपाध्यक्ष, महासचिव (दुई कार्यकाल) र कोषाध्यक्ष रहेर काम गरिसकेकी छन् । उनी द हिलिङ्डन एनएचएस ट्रष्ट अस्पतालको सर्जिकल वार्डमा म्यानेजर छिन् ।

अध्यक्ष निर्वाचित भएपछि उनले बेलायतस्थित नेपाली नर्सहरुको करिअर विकास, हकहित र नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

नेपालमा भएका नर्सहरुलाई बेलायत आउन आवश्यक प्रक्रियामा सक्दो सुझाव दिने पनि उनले बताइन् । एसोसिएसनले हरेक महिनाको अन्तिम आइतबार निशुःल्क ओइटी क्लास सञ्चालन गर्दै आएको छ । सदस्य अन्जना खतिवडाले उक्त कोर्स सञ्चालन गर्छिन् ।

नर्सहरुका लागि करिअर डेभलप्मेन्ट कन्फरेन्स, स्वास्थ्य सम्मेलन, शिविर आदि गर्ने योजना पनि अध्यक्ष रस्मिताको छ ।

अध्यक्ष दर्लामीले नर्सहरुको ‘हेल्थ एण्ड वेल वीइङ’ का लागि पनि कार्य गर्ने जनाइन् । यसका लागि दर्लामी आफैं क्वालिफाइड प्रोफेशनल नर्स एड्भोकेट हुन् ।

नेपाली नर्सहरुलाई केही समस्या भए सहयोग गर्न, सल्लाह सुझाव दिन र दिशानिर्देश गर्न एसोसिएसनले प्राथमिकता दिने उनको अठोट छ ।

अध्यक्ष दर्लामीले बेलायतस्थित नेपाली नर्सहरुलाई एसोसिएसनको सदस्य बन्न आग्रह गर्दै बेलायतमा पनि जिसिएसइ पढेपछि नर्सिङ पढ्न चाहनेलाई सम्पर्क गर्न आग्रह गरेकी छन् ।

उनले संस्थाका आजीवन सदस्य, साधारण सदस्य र सल्लाहकारहरुबाट निरन्तर सुझाव सल्लाह पाउने आशा पनि व्यक्त गरिन् ।

यसअघि अध्यक्ष सुनिता गौतमको अध्यक्षतामा भएको अधिवेशनमा महासचिव श्रीजा डंगोलको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अप्सरा सन्जेलले प्रस्तुत गरेको आयव्यव प्रतिवेदन पारित भएको थियो ।

अधिवेशनले आपतकालिन कोष स्थापना गर्ने निर्णय अनुमोदन गरेको छ । साथै एनएनए यूके स्कटल्याण्ड ब्रान्चलाई केन्द्रिय सदस्यका रुपमा आवद्ध गरेर अगाडि बढाइने निर्णय पनि भएको छ ।

अधिवेशनको औपचारिक सत्रमा उपाध्यक्ष 
रस्मिताले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रम सञ्चालन महासचिव श्रीजा डंगोल र सांस्कृतिक सचिव प्रजु सापकोटाले गरेका थिए । अधिवेशन प्रत्यक्ष र भर्चुअल रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा सोलिसिटर राजु थापालाई प्रशंसापत्र प्रदान गरियो ।

सन् २००८ मा स्थापित बेलायतको उक्त च्यारिटी संस्थाले नेपालमा कयौं च्यारिटी गरिसकेको छ । बेलायतस्थित नेपाली चिकित्सकहरुको सहकार्यमा एसोसिएसनले बेलायत र नेपालमा धेरै स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू