शुक्रबार, माघ ११, २०८१
00:32 | ०६:१७

लन्डनमा यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड गर्ने घोषणा

नेपाली लिङ्क जुन २९, २०२४

लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले लन्डनमा यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा यूके २०२४) गर्ने भएको छ ।

विदेशमा नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यसहित अवार्ड कार्यक्रम गरिने भएको हो ।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यतीको आयोजना र संगीक्षा फिल्मस इन्टरटेनमेन्ट प्रा. लि. को व्यवस्थापनमा अगष्ट ३१, २०२४ मा भव्य समारोहबीच लन्डनमा अवार्ड प्रदान गर्न लागिएको आयोजकले जानकारी दिए ।

२०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । इन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् ।

नेपाली चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ मर्यादित, निष्पक्ष अवार्ड कार्यक्रम गरिने संस्थाकी अध्यक्ष पिपला देवान पाण्डेले प्रतिवद्धता व्यक्त गरिन् ।

अवार्डका लागि यूके कमिटीमा अध्यक्ष देवानसहित यती पूर्व अध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त एवं पून्य रेग्मी र पाल्देन लामा छन् भने नेपाल कमिटीमा संगीक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशान्त कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा छन् ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा भएको उक्त पत्रकार सम्मेलनमा वरिष्ठ कलाकारहरु कृष्ण मल्ल, नरेश पौडेल, गायक यम बराल, मलिना जोशी लगायत चलचित्रकर्मीले सफलताको शुभकामना दिए ।

इभेन्ट संयोजक उमेशराज मोक्तानले नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन र फिल्म प्रचार प्रसारका लागि अवार्ड कार्यक्रम गर्न लागिएको बताए ।

‘बेलायतमा नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । यहीं फिल्म निर्माण-प्रदर्शन समेत वृद्धि भइरहंदा लन्डनलाई प्राथमिकता दिइएको हो’, मोक्तानले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू