इरानको राष्ट्रपतीय निर्वाचनमा पेजेस्कियन र जलिलीबीच प्रतिस्पर्धा



इरानी राष्ट्रपतिका उम्मेदवार सइद जलिली (बायां) र मसूद पेजेस्कियन । तस्विर- गेटी इमेजेज्
तेहरान (इरान), असार १५ गते । इरानका सुधारवादी उम्मेदवार मसूद पेजेस्कियन र अति परम्परावादी समूहका सईद जलिलीले राष्ट्रपतीय निर्वाचनको मत गणनामा अग्रता कायम गरेको शनिबार आन्तरिक मन्त्रालयद्वारा जारी प्रारम्भिक परिणामले देखाएको छ ।
पछिल्लो परिणामअनुसार पेजेस्कियनले ८३ लाखभन्दा बढी मत र पूर्व आणविक वार्ताकार जलिलीले ७१ लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।
हालको प्रवृत्ति जारी रहेको अवस्थामा दुवै उम्मेदवारले जुलाई ५ हुने दोस्रो निर्वाचनमा प्रतिस्पर्धा गनुपर्नेछ । इरानी संविधान अनुसार यदि कुनै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको चुनाव गर्नुपर्ने प्रावधान छ ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा भएको १३ वटा राष्ट्रपतीय चुनावमध्ये सन् २००५ मा भएको एउटा मात्र निर्वाचनमा दोस्रो चरणको मतदानबाट राष्ट्रपतिको चयन गरिएको थियो ।
आन्तरिक मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ९० लाखभन्दा बढी मत गणना भइसकेको छ ।
प्रारम्भिक परिणाममा कन्जरभेटर संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफ लगभग २६ लाख मतसहित तेस्रो स्थानमा छन् ।
यसैगरी चौथो स्थानमा परम्परावादी धर्मगुरु मुस्तफा पौरमोहम्मदीले १५ लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।
नियमित तालिका अनुसार सन् २०२५ मा हुनुपर्ने निर्वाचनका लागि करिब छ करोड १० लाख इरानी मतदान गर्न योग्य थिए ।
इस्लामिक गणतन्त्रमा चुनावी उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले सुरुमा छ जना उम्मेदवारलाई अनुमोदन गरेको थियो । तर चुनावको एक दिन अगाडि दुई उम्मेदवारहरू अलिरेजा जाकानी र अमिर–हुसेन गाजीजादेह हाशेमी दौडबाट बाहिरिएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५