बुधबार, माघ ९, २०८१
09:52 | १५:३७

प्रदीप सापकोटाको ‘यात्राको लय’ सार्वजनिक

नेपाली लिङ्क जुन २९, २०२४

काठमाडौं । नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रा संग्रह ‘यात्राको लय’ एक समारोहबीच लोकार्पण गरिएको छ ।
नेपाल श्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा कृति विमोचन गरिएको हो ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रा. डा. लक्ष्मण गौतम, कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, चर्चित पत्रकार तथा निवन्धकार दीपक सापकोटा, नियात्राकार जय छाङ्छा, समालोचक ज्ञानु अधिकारी, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी लगायतले उक्त कृति लोकार्पण गरेका थिए ।

प्रमुख अतिथि क्याप्टेन रामेश्वर थापाले सापकोटाको व्यक्तित्वका विविध आयामबारे चर्चा गर्दै शुभकामना दिए ।
समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति एवं पाठकलाई आफूसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता रहेको उल्लेख गरिन् ।

द्धन्द्धकालीन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएको अधिकारीले बताइन् । अर्का वरिष्ठ नियात्राकार जय छाङ्छाले कृतिका सैद्धान्तिक पक्षहरुबारे चर्चा गर्दै नियात्रामा लेखकको भविष्य रहेको बताए ।

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो कलेज सहपाठीको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै यात्रा सबैले गरेपनि नियात्रा थोरैले लेख्ने गरेका तर लेखेका कुराहरुको चर्चा हुनुपर्ने बताए ।

यसैगरि शुभकामना दिँदै प्रा. डा. लक्ष्मण गौतमले नियात्राकारका सिद्धान्तका अध्येता र समालोचकहरुले नै कृतिको बारेमा चर्चा गरिसकेपछि कृति पठनीय भएको बुझ्न कठिनाई नभएको बताए ।

कार्यक्रममा कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, भूँडीपूराण प्रकाशनका केशव पराजुलीलगायतले कृति सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नियात्राकारले कृतिको रचना गर्भबारे आफ्ना अनुभूति राखेका थिए ।

‘यात्राको लय’मा सशस्त्र द्धन्द्धकालीन नेपाली समाजमा यात्राका क्रममा देखे भोगेका विद्रुप चित्रदेखि धार्मिक र दार्जिलिङसम्मको यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किइएको छ ।

कतिपय यात्राहरु श्रृँखलामा बगेका छन् । साथै यात्राको विभिन्न परिवेश, प्राकृतिक दृश्य, यात्राका कठिनतम् एवं सुखद पलहरुको मिठासपूर्ण वर्णन रहेको उक्त कृति नियात्राकारको दोश्रो नियात्रा हो ।

कृति लोकार्पण कार्यक्रम विभिन्न साहित्यिक व्यक्तित्वहरुको उपस्थितिमा नेपाल श्रष्टा समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदनको अध्यक्षता एवं सदस्य मधु पाठकको सञ्चालनमा भएको थियो ।

अध्यक्ष रोदनले नियात्रामा गाम्भीर्यता हुनु अनिवार्य रहेको उल्लेख गर्दै सतही विवरण कदापी नियात्रा नहुने बताए ।

श्रष्टा समाजका महासचिव देवीका तिमिल्सिनाले स्वागत मन्तव्य र मधु पाठकले सञ्चालन गरेको भएको उक्त कार्यक्रममा नेपाल श्रष्टा समाजलाई भानु प्रतिष्ठानका उपाध्यक्ष ऋषवदेव घिमिरे तथा पूर्व कोषाध्यक्ष हरिबोल ढकालले हस्तलिखित भानुभक्तिय रामायण हस्तान्तरण पनि गरेका थिए ।

नियात्राकार तथा समीक्षा लेखनीमा सक्रिय सापकोटाको यसअघि यात्राका इन्द्रेणी रंग (नियात्रा सङग्रह) र मनको वारपार (मुक्तक संग्रह) प्रकाशित भइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू