बुधबार, माघ ९, २०८१
09:43 | १५:२८

लन्डन ट्रान्सपोर्टका इन्जिनियरको ‘पिर नगर निरमाया’लाई १४ लाख बढी भ्यूज

नेपाली लिङ्क जुन २९, २०२४

लण्डन- माया र प्रेमलाई संस्कार र प्रकृतिसंग संयोजन गरिएको इन्जिनियर ज्ञानेन्द्र क्षेत्रीको ‘पिर नगर निरमाया’ बोलको गीतलाई एक महिनाभित्रै १४ लाख बढी दर्शकले हेरेका छन् ।

गायक तिलक बस्नेत र गायिका मेलिना राईको आवाजमा रहेको यो गीतको भिडियो मुस्ताङमा छायांकन गरिएको हो। शव्दहरु माया पिरतिमा आधारित भए पनि कथालाई भने संस्कार र प्रकृतिसंग जोडेर मनोरन्जन दिन खोजिएको छ ।

तिलक बस्नेतको संगीत रहेको यो गीतमा सुदिप सागरको एरेन्ज, कमल थापा र गोविन्द अनेकको रेकर्ड, श्याम श्वेत रसाइली र किरण बिकको मिक्सिङ छ भने प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो ।

“यो गीत नेपाली लोकधुनमा प्रेमिल शब्दहरू उनेर निर्माण भएको सङ्गीत हार हो । यसमा नेपाली दिलको चोखो माया भुल्भुलाएको छ । यसमा आरम्भमा नेपाली समाजमा देखिने सामाजिक समस्या प्रस्तुत गरिएको छ,” संस्कृतिविद् तथा समीक्षक डा गोविन्द आचार्यले भने।

“एउटी चेलीको जीवनमा समस्याको बादलले घेरेको छ । तर त्यो बादल एकैछिनको हुरीपछी हराएको छ । यस गीतमा नेपाली संस्कृति, नेपालको हिमाली पहाडी दृश्यहरु प्रस्तुत भएको छ । सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतले नेपाली समाजको एउटा पाटो प्रस्तुत गरेको छ । सुधार गर्नु पर्ने केही ठाउं छन्, तर समष्टिमा गीत सुन्दर छ । यसका सबै कलाकारहरुलाइ बधाइ छ,” डा आचार्यले भने।

क्रिस गुरुङ, निशा मगर र कुङ्गा गुरुङको अभिनय रहेको भिडियोको निर्देशन विशाल घिमिरेले गरेका हुन् । सन्देश बिकको नृत्य र बुद्ध थापाको टिमले छायांकन गरेको भिडियो मिलन विश्वकर्माले सम्पादन र कलरिङ गरेका हुन् ।

आउटलुक्स पोस्टर डिजाइन सन्तोष चौहानले गरेको भिडियो निर्माणमा श्रृंगार सरिता मगरले गरेकी हुन् ।

गीतको भिडियोमा मुस्ताङको मनमोहक दृष्य र संस्कार देखाइएको छ ।

गएको झन्डै दुइ दशकदेखि बेलायतमा सपरिवार बसोबास गरिरहेका क्षेत्री ‘ट्रान्सपोर्ट फर लन्डन’ मा काम गर्छन्। उनले लेखेको तथा गायक ललित बस्नेत तथा बन्दना पाण्डेले गाएको ‘पैसा पैसा’ भन्ने गीत र म्यूजिक भिडियो दुई महिना अघि मात्रै सार्वजनिक भएको थियो।

तिलक बस्नेत अफिसियल युट्युब च्यानलबाट सार्वजनिक ‘पिर नगर निरमाया’ गीतको भिडियो :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू