आइतबार, भदौ २३, २०८१
01:11 | ०५:५६

बेलायतका पर्वतेहरु विपन्न बालबालिकालाई सहयोग जुटाउँदै (भिडियो)

नेपाली लिङ्क जुन २७, २०२४

लन्डन । बेलायतको पुरानो सामाजिक संस्था पर्वत वेलफेयर सोसाइटी यूकेको च्यारिटी डिनर तयारी अन्तिम चरणमा पुगेको छ ।

पर्वतका गरिव, असहाय बालबालिकाको पठनपाठनमा सघाउन कोषवृद्धि गर्ने उद्देश्यसहित सोसाइटीले आउंदो ७ जुलाई दिउसो अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी इभेन्ट गर्न लागेको हो ।

सोसाइटी अध्यक्ष अप्सरा गुरुङले गाउंका कम्तीमा ३०० बालबालिकाका लागि पोशाक, कापी कलम लगायत स्टेशनरी सामग्री जुटाउन च्यारिटी डिनर गर्न लागिएको जनाइन् ।

ति सामग्री जुटाउन जनही विद्यार्थी करिब ४ हजार रुपैयां खर्च हुने प्रक्षेपण संस्थाको छ । संस्थाले लक्षित वर्गमा सहयोग पुरयाउन स्थानीय जनप्रतिनिधिसंग पनि समन्वय गरिरहेको छ ।

देशमा ८० प्रतिशतभन्दा बढी साक्षरता दर बावजुद पर्वतका धेरै अल्पसंख्यक बालबालिकालाई अझै पनि आवश्यक शैक्षिक स्रोतहरूमा पहुँच नभएको सोसाइटीको धारणा छ ।

‘पढ्न रहर हुंदा पनि आर्थिक अवस्थाका कारण स्कुल जान नसकेका गरिव, जेहेन्दार विद्यार्थीलाई हामीले प्राथमिकता राखेका छौं’, गुरुङ भन्छिन् ।

अध्यक्ष गुरुङले नगद दिएर वा गरिव बालबच्चालाई पढाइदिएर पनि सहयोग गर्न सकिने जनाइन् । अहिले एक परिवारले १५ जना विद्यार्थी र अर्को परिवारले १० विद्यार्थीलाई पढाउने जिम्मा लिइसकेको अध्यक्ष गुरुङले बताइन् ।

कार्यक्रममा लामो औपचारिक भाषण नराखी राष्ट्रिय कलाकारहरुबाट गायन, नृत्य, राफल ड्र र डिनर गरिने जनाउंदै बेलायतवासी सबैजनालाई कार्यक्रममा आइदिन आव्हान गरेकी छन् । उनले संकलित रकम पारदर्शी तरिकाले सदुपयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

कार्यक्रम संयोजन सोसाइटीका वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले गर्दैछन् ।

पर्वत वेलफेयर सोसाइटी यूके सन् २००२ मा स्थापना भएको संस्था हो र यसका संस्थापक अध्यक्ष हुन् हितकाजी गुरुङ । तमुधिं यूके स्थापना भए लगत्तै सोसाइटीको जन्म भएको थियो ।

सोसाइटीले स्थापनायता जिल्लामा विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सहयोग गर्दै आएको छ । भूकम्प, बाढी पीडित, कोरोना महामारीसहित आपतविपतका बेला संस्थाले सधैं सहयोगका हात फैलाउंदै आएको छ ।

समाजसेवी दधी आचार्य अध्यक्ष रहेका बेला करिब ७ वर्षअघि सोसाइटीले पर्वत सदरमुकाम कुश्मास्थित शिवालय माविमा अध्ययनरत २२ जना दृष्टिविहीन बालबालिकाको शिक्षा सहयोगार्थ १० लाख रुपैयांको अक्षय कोष खडा गरि सहयोग गरेको गुरुङले स्मरण गरिन् । उक्त अक्षय कोषबाट अहिले पनि विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

हेरौं सोसाइटी अध्यक्ष अप्सरा गुरुङसंग नेपालीलिंकको भिडियो संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू