शुक्रबार, माघ ११, २०८१
02:38 | ०८:२३

लन्डनमा हुन लागेको निशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन आव्हान

नेपाली लिङ्क जुन २६, २०२४

लन्डन । यती नेपाली एसोसिएसन यूकेले आउँदो जुन ३० तारिख आइतबार निशुल्क स्वास्थ्य शिविर 
गर्ने भएको छ ।

लन्डन साउथ ह्यारोस्थित स्पोर्ट्स एन्ड सोसियल क्लवमा बिहान ११ देखि ४ बजेसम्म वृहत स्वास्थ्य शिविर गर्न लागिएको यतीले जनाएको छ।

शिविरमा रक्तचाप निगरानी, मधुमेह परीक्षण (रक्त), फिजिकल हेल्थ चेक अप, स्वास्थ्य जागरूकता शत्र, दीर्घ रोग सम्बन्धि सल्लाह सुझाव एवं मार्गदर्शन, नेपाली वृद्धवृद्धाहरुलाई बेलायतको सोसल केयर सम्बन्धि व्यवस्था अनि अधिकार लगायतबारे ‘काउन्सिलिङ’ गरिने यती महासचिव टंक भट्टराईले बताए ।

सामाजिक सचिव तथा यती निशुल्क स्वास्थ्य शिविर–२०२४ संयोजक सिनियर स्पेशलिष्ट नर्स सुष्मा पौडेल भट्टराईले शिविरमा करिव ५ जना डाक्टर तथा त्यति नै संख्यामा स्पेशलिष्ट नर्सहरु साथै संस्थाका १५ जना बढी स्वयंसेवक तयारी तथा व्यवस्थापनमा खटिने जनाउंदै सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइन् ।

६४ वर्षअघि स्थापना भएको यती नेपाली एसोसिएसन यूकेले नेपाली समुदायको सेवामा समर्पित हुंदै स्वास्थ्य शिविर गर्न लागेको घोषणा गर्न पाउँदा खुशी लागेको संस्थाकी अध्यक्ष पिपला देवानले बताइन् ।

‘यती संस्थाले नेपाली डायसपोरामा यो कार्यलाई आफ्नो जिम्मेवारी महशुस गरेर हामीले अत्यावश्यक स्वास्थ्य सेवा र सहयोग प्रदान गर्न यो निःशुल्क स्वास्थ्य शिविर डिजाइन गरेका छौं’, अध्यक्ष देवानले भनिन्, ‘म ह्यारो, वेम्ली, हेज, हन्स्लो, फेल्थाम लगायत अन्य नजिकै बस्ने नेपाली समुदाय र विशेष गरि वृद्धवृद्धालाई सरिक हुन आव्हान गर्दछु ।’

अंग्रेजी भाषा समस्या, हिच्किचाहट लगायत अनेकौं कारणले समस्या भए पनि स्वास्थ्यकर्मीको सल्लाह नलिइ बसेका बृद्धबृद्धाहरुलाई नेपाली स्वास्थ्यकर्मीबाट पाउने सल्लाह सुझावले सक्दो सहयोग मिल्न सक्ने अध्यक्ष देवानले बताइन् ।

शिविर आर्थिक व्यवस्थापनको लागि एचटीआर केयर, माया सपोर्टेड लिभिङ, ह्याम्प्सटेड इयर केयर, नेवा छे माया र देउराली ट्राभल्सको सहयोग रहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू